काठमाडौं– काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्धार माविभित्र भएको एउटा घटना यसबेला भाइरल बनिरहेको छ। कारण थियो विद्यालयका प्राचार्यमाथिको कुटपिट घटना ।
तर यस विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार घिमिरे र प्रचार्य विनोद पण्डितबीच भनाभन, हातपाइ र कुटपिट भने कुनै नौलो नभएको बताइन्छ । उनीहरुबीच यस्ता घटना सामान्य जस्ता बन्दै आएको विद्यालय स्रोत बताउँछ ।
तीन महिना पहिला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार घिमिरेलाई प्राचार्य विनोद पण्डितले आफ्नै कार्यकक्षमा कुटपिट गरेका थिए। घिमिरेले सोविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरु एकापसमा झगडिया जस्तै बन्दै आएका छन् ।
यसैको परिणाम स्वरुप विद्यालयमा कक्षा सञ्चालन भइरहेको बेला शुक्रबार प्राचार्य विनोदमाथि घिमिरे पक्षले कुटपिट गरेको थियो ।
घिमिरेले विद्यालय व्यवस्थापन समितिको तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा तगारो थिए– पण्डित । त्यसैले घिमिरे पक्षले भर्ना गर्न ल्याउने विद्यार्थीमाथि उनको कडा निगरानी रहने गरेको थियो । त्यसैले उनी घिमिरेको कमजोरी खोजेर बसिरहेका हुन्थे । यसैको परिणम थियो– शुक्रबारको घटना ।
विद्यालय व्इवस्थापन समितिमा निर्वाचित वा सहभागी हुन विद्यालयमा अध्ययनरत विद्यार्थीका बुबा, आमा, हजुरबुबा वा हजुरआमा हुनुपर्ने नयाँ कार्यविधि आएको छ । त्यसैले घिमिरेले आफ्नी छोरी भर्ना गरेर आफू विद्यालयको अभिभावक रहेको दाबी गर्ने रणनीतिमा थिए ।
यस क्रममा उनले चार वर्षअघि नै विद्यालयबाट पासआउट भएर गएकी आफ्नी छोरीलाई फेरि सोही कक्षामा भर्ना गर्न खोजेका थिए । तर प्राचार्य पण्डितले भर्ना गर्न नमिल्ने जवाफ दिएपछि घिमिरेको निर्देशनमा उनीमाथि आक्रमण भएको थियो। घटना भएको बेला विद्यालयभित्रै रहेका घिमिरे कुटपिटको काम सकेपछि भने कम्पाउन्ड नाघेर भाग्ने प्रयास गरेका थिए । त्यहाँ रहेका सुरक्षा गार्ड र विद्यार्थीले उनलाई समातेका थिए । त्यस्तै आक्रमण गर्ने निशाल दाहाल पनि विद्यालयभित्रैबाट पक्राउ परेका थिए ।
प्रहरीले पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका- ७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे भएको जानकारी दिएको छ । उनीहरुलाई शुक्रबारै अदालतको अनुमतिमा चार दिन हिरासतमा राखिएको छ । सबै अदालत सोमबारदेखि बिदा हुने भएकाले उनीहरुमाथिको थप कारवाही दशैंपछि मात्र अगाडि बढ्ने भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार प्रधानाध्यापकलाई घिमिरेको निर्देशनमा दाहालले मुक्का र लात्ती प्रहार गरेका थिए ।
दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्ने, गालीगलौज र धम्कीसमेत दिने गरेका थिए ।






















