images
images
  • पर्यटकको उद्धार गर्न निजी हेलिकोप्टर पठाउन सरकारको आह्वान, समन्वयका लागि सेनाको नम्बर सार्वजनिक

    काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले गोरखाको मनास्लु क्षेत्रमा बाढी र पहिरोका कारण फसेका स्वदेशी तथा विदेशी पर्यटकको उद्धारका लागि निजी क्षेत्रलाई हेलिकोप्टर पठाउन आह्वान गरेका छन् ।

    उनले विपद्का बेला पर्यटकको उद्धार गर्न निजी हेलिकोप्टर लैजान कुनै रोकावट नरहेको उल्लेख गर्दै समन्वयका लागि नेपाली सेनाको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

    पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत मनास्लु क्षेत्रमा फसेका पर्यटकको उद्धारमा पर्यटन व्यवसायीले निजी हेलिकोप्टर पठाउन सक्ने बताएका हुन् । उनका अनुसार विपद्को समयमा हेलिकोप्टर लैजान छुट्टै अनुमति लिनुपर्ने अवस्था नरहेको र त्यसका लागि नेपाली सेनासँग समन्वय गर्न सकिनेछ ।

    ‘यदि प्राइभेट हेलिकोप्टर लैजान समन्वय गर्नुपर्‍यो भने नेपाली सेनालाई ९८५१०७७१७१ मा सम्पर्क गर्नुहोला,’ पुनले आफ्नो स्टाटसमा लेखेका छन् ।

    उनको यो आह्वानले मनास्लु क्षेत्रमा फसेका पर्यटकको उद्धारमा निजी क्षेत्रको सहयोग परिचालन गर्न सरकारका तर्फबाट समन्वयको बाटो खुला रहेको सन्देश दिएको छ । साथै, आपत्कालीन अवस्थामा उद्धारका लागि निजी क्षेत्रका हेलिकोप्टर सञ्चालक र पर्यटन व्यवसायीले समेत पहल गर्न सक्ने उनको भनाइ छ ।

    उद्धारमा सरकारको भूमिका के ?

    गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आइतबार आएको बाढीले पदमार्ग, झोलुङ्गे पुल तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि मनास्लु क्षेत्रका विभिन्न स्थानमा पर्यटक अलपत्र परेका छन् । पदमार्ग अवरुद्ध हुँदा स्थलमार्गबाट आवतजावत कठिन बनेको छ ।

    नेपाली सेनाले हेलिकोप्टर परिचालन गरी आइतबार ९५ जनाको उद्धार गरेको थियो, जसमा नौ जना विदेशी नागरिक थिए । यस्तो अवस्थामा मन्त्री पुनले निजी क्षेत्रलाई हेलिकोप्टर पठाउन गरेको आह्वानले विपद् व्यवस्थापनमा सरकार, सुरक्षा निकाय र निजी क्षेत्रबीचको समन्वयबारे प्रश्न उठाएको छ ।

    सरकारी संयन्त्रको उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रको सहयोग खोजिएको हो वा दुर्गम क्षेत्रमा तत्काल उद्धारको आवश्यकता पूरा गर्न उपलब्ध सबै स्रोत परिचालन गर्न खोजिएको हो पुनको स्टाटसले यी प्रश्नको स्पष्ट उत्तर दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images