images
images
  • हिम पावर हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने

    काठमाडौं – हिम पावर हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ ।

    कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको १६ लाख ९० हजार कित्ता सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई छुट्याइएको छ ।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् चार करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको चार लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन हुनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

    न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते तोकिएको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फारामका लागि दुई रुपैयाँ शुल्क लाग्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

    दुई जलविद्युत आयोजना सञ्चालनमा

    हिम पावर हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

    कम्पनीका अनुसार २० मेगावाटको साँगु खोला आयोजनाको कुल लागत तीन अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन भइरहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको विवरणमा उल्लेख छ ।

    त्यस्तै, ५.५ मेगावाटको साँगु खोला–१ आयोजनाको कुल लागत एक अर्ब १५ करोड चार लाख ५३ हजार ८९ रुपैयाँ छ। प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको यस आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी छ ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । आईपीओको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images