काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम तत्काल लागू भएको दाबी गरेका छन् ।
उनले दुवै पक्ष यसमा सहमत भएको उल्लेख गर्दै सम्झौता उल्लङ्घन नगर्न आग्रह गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति तत्काल लागू भएको बताएका हुन् । यद्यपि, युद्धविरामका सर्त, अवधि र कार्यान्वयन प्रक्रियाबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६० दिनको पूर्ण युद्धविराममा सहमत भए युक्रेनमा निर्वाचन गराउन सकिने बताएका थिए ।
अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले पुटिनलाई दुई महिना अर्थात् ६० दिनसम्म पूर्ण युद्धविराम गर्न आग्रह गर्नुपर्ने बताएका थिए । उनका अनुसार युद्धविराम भए निर्वाचनका लागि आवश्यक सुरक्षा र व्यवस्थापकीय परिस्थिति तयार गर्न सकिनेछ ।
युक्रेनमा हाल सैनिक शासन लागू रहेकाले निर्वाचन गराउन रोक छ । युद्धका क्रममा देशव्यापी निर्वाचन गर्दा सुरक्षा र व्यवस्थापनमा चुनौती हुने युक्रेनी नेतृत्वको भनाइ छ ।
जेलेन्स्कीले युक्रेन रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न तयार रहेको बताएका छन् । तर त्यसका लागि रुसले पनि युक्रेनका विद्युत् केन्द्र तथा अन्य ऊर्जा पूर्वाधारमा आक्रमण बन्द गर्नुपर्ने उनको शर्त छ ।






















