काठमाडौं– अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् ।
उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौं, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौं’ भनेका छन् ।
सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उनको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरेका छन् ।
मस्क विश्वकै पहिलो खर्बपति बने पनि उनले अमेरिकी संसद्मा रिपब्लिकनको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ ।
‘द न्युयोर्क टाइम्स’ का अनुसार मस्कले यस वर्ष जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरेका छन् । त्यसमध्ये रिपब्लिकन सिनेट उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कार्यसमिति (सुपर पीएसी) का लागि १५ करोड ८० लाख अमेरिकी डलर खर्च गरिएको छ । यसले उनलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ ।
अमेरिका पीएसीका प्रवक्ता एन्ड्र्यु रोमियोले उक्त सहयोगले रिपब्लिकन पार्टीलाई आफ्नो सन्देश मतदातासम्म पु¥याउन मद्दत गरेको बताएका छन् ।






















