काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी तथा अनलाइन सट्टाबाजी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्ला, सबैला नगरपालिका वडा नं. १२ स्थायी वतन भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुन विपरीत विभिन्न वित्तीय माध्यम एवं अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी खेलाउने तथा अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषणमार्फत अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा यादवले बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९९ हजार ३८८.५० यूएसडीटी (क्रिप्टो) को कारोबार गरेको पाइएको छ । १ यूएसडीटी बराबर १५१.५३ नेपाली रुपैयाँका दरले हिसाब गर्दा उक्त रकम २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबर हुन आउँछ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ तथा सोही संहिताको दफा २६२ (क) १ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा अगाडि बढाइएको छ ।
सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप अनुमति लिई यादवमाथि आवश्यक अनुसन्धान एवं कानुनी कारबाही भइरहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।






















