काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि महाअभियोग प्रक्रिया अघि बढाउने संकेत गरेको छ।
पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले न्यायाधीशहरूमाथि कारबाही कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले यस विषयमा अब कसरी अघि बढ्ने भन्ने कुरा संसद्सँग सम्बन्धित रहेकाले संसदीय प्रक्रियाबाटै अगाडि बढ्ने बताए। उनको अभिव्यक्तिलाई न्यायाधीशहरूमाथि महाअभियोग प्रस्ताव अघि बढाउने तयारीका रूपमा हेरिएको छ।
रास्वपाको सचिवालय बैठकमा विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटमा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको थियो। सापकोटासँगको संवाद तथा भेटघाटका विवरण सार्वजनिक भएपछि न्यायालयको निष्पक्षता र न्यायाधीशहरूको भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ।
यसअघि रास्वपाका केही सांसदहरूले पनि न्यायाधीशहरूमाथि उठेका प्रश्नको संसदीय छानबिन हुनुपर्ने र आवश्यक परे महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।
नेपालको संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गर्न सकिने व्यवस्था छ। त्यसका लागि संविधान र प्रतिनिधिसभा नियमावलीले तोकेको प्रक्रिया पूरा गर्नुपर्छ।
यद्यपि, रास्वपाको सचिवालय बैठकले महाअभियोग प्रस्ताव नै दर्ता गर्ने औपचारिक निर्णय गरिसकेको हो वा संसदीय प्रक्रियाका सम्भावित विकल्पबारे मात्रै छलफल भएकाे छ ।





















