images
images
  • मौसम क्रमिक रूपमा सुधार हुने क्रममा

    काठमाडौं– पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमानअनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहेको छ । हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ ।

    हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

    रातिको समयमा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images