काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले बिचौलिया इनम सापकोटासँग काठमाडौंको होटल हिमालयमा भएको भेटमा सर्वोच्च अदालतकै अन्य न्यायाधीशसमेत सहभागी रहेको खुलासा गरेका छन् । गत भदौ १८ गते भएको उक्त भेट न्यायाधीश फुयालकै प्रस्तावमा तय भएको र त्यस क्रममा सापकोटाले प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशहरूमाथि दबाब सिर्जना गर्न खोजेको फुयालले बताएका छन् ।
बिहीबार केही न्यायिक पत्रकारहरूसँगको छलफलमा फुयालले सापकोटासँग आफ्नो चिनजानदेखि उनको गतिविधिमाथि शंका बढेको र अन्ततः सम्बन्धित निकायलाई जानकारी गराएको घटनाक्रम सुनाएका हुन् । उनका अनुसार सापकोटाले सुरुमा आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको निकट व्यक्ति तथा अमेरिकी दूतावाससँग सम्बन्धित व्यक्तिका रूपमा प्रस्तुत गरेका थिए । पछि उनले अर्को विदेशी दूतावास, नेपाली सेनाका प्रधानसेनापति र प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग समेत आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने गरेका थिए ।
फुयालले एक पारिवारिक व्यक्तिमार्फत सापकोटासँग चिनजान भएको बताए । सुरुका दिनमा सापकोटाका गतिविधि शंकास्पद नलागेको उल्लेख गर्दै उनले सापकोटाले न्यायिक शुद्धीकरण, कानुनी शासन र न्यायालय सुधारका विषय उठाउने गरेको बताए । अमेरिका, भारत र प्रधानमन्त्रीका प्राथमिकताबारे समेत जानकारी दिने गरेकाले आफूले उनलाई उच्च तहसम्म पहुँच भएको व्यक्ति ठानेको फुयालको भनाइ छ ।
‘सुरुका करिब दुई महिनासम्म उनी न्यायिक शुद्धीकरण र कानुनी राज्यका कुरा गर्थे । अमेरिका, भारत र प्रधानमन्त्रीले के चाहन्छन् भन्ने विषयमा पनि सूचना ल्याउँथे । त्यसैले उनी त्यतैको व्यक्ति होलान् भन्ने लागेको थियो’, फुयालले पत्रकारहरूसँग भने ।
विचाराधीन मुद्दामा चासो राखेपछि बढ्यो शंका
फुयालका अनुसार सापकोटाले सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूसँग समेत सम्पर्क विस्तार गरेका थिए । विचाराधीन मुद्दामा चासो राख्ने र प्रधानमन्त्रीको चाहना भन्दै न्यायिक निर्णय प्रभावित पार्न खोज्ने गतिविधिले उनीमाथि शंका बढाएको फुयाल बताउँछन् ।
फुयाल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको एक मुद्दामा गुप्ता थरका प्रतिवादीलाई थुनामै राख्नुपर्ने र प्रधानमन्त्रीको चाहना पनि त्यही रहेको सापकोटाले बताएको फुयालको भनाइ छ । तर ती व्यक्तिलाई थुनामै राखिरहन पर्याप्त आधार नदेखिएको भन्दै इजलासले दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
फुयालले दिएको विवरणअनुसार उक्त मुद्दामा धरौटीमा रिहा गर्ने आदेश भएको भोलिपल्टै भदौ १८ गते होटल हिमालयमा सापकोटासँग भेट भएको थियो । उक्त भेटमा सर्वोच्च अदालतका अन्य न्यायाधीशसमेत सहभागी रहेको उनले बताए । भेटका क्रममा सापकोटाले प्रधानमन्त्री न्यायाधीशहरूसँग असन्तुष्ट रहेको भन्दै दबाब सिर्जना गर्न खोजेको फुयालको दाबी छ ।
होटलको बिलले पनि शंका बढाएको दाबी
होटल हिमालयमा भएको भेटको खर्चसम्बन्धी बिल अर्को व्यक्तिको नाममा राख्न लगाइएको घटनाले पनि सापकोटाको भूमिकामाथि शंका बढाएको फुयालले बताएका छन् । त्यसपछि सापकोटाको वास्तविक परिचय र उनी कसका लागि काम गरिरहेका थिए भन्नेबारे आफूले थप बुझ्न थालेको उनको भनाइ छ ।
फुयालका अनुसार सापकोटाले प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै विभिन्न मुद्दामा दबाब दिन खोजेका थिए । विशेषगरी आर्थिक कारोबारसँग सम्बन्धित मुद्दामा देखाएको चासोले उनी प्रधानमन्त्री वा विदेशी कूटनीतिक नियोगसँग सम्बन्धित व्यक्ति नभई मुद्दामा चलखेल गर्ने बिचौलिया हुनसक्ने आशंका बढाएको फुयालले बताए ।
कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्टलाई छुटाउन प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै दबाब दिइएपछि आफूहरू थप सतर्क भएको पनि उनले उल्लेख गरे । त्यसपछि सापकोटा प्रधानमन्त्रीका प्रतिनिधि नभएको निष्कर्षमा पुगेको र सम्बन्धित निकायलाई जानकारी गराएको फुयाल दाबी गर्छन् ।
प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएको फुयालको भनाइ
सापकोटाको गतिविधिमाथि शंका बढेपछि प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूसँग कुरा गरेको र उनको गतिविधिबारे सूचना तथा प्रमाण उपलब्ध गराएको फुयाल बताउँछन् ।
‘सापकोटाको गतिविधिमा शंका लागेपछि प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूसँग कुरा भयो । मैले नै उनीबारे सूचना र प्रमाण उपलब्ध गराएको हुँ’, फुयालले भने, ‘तर अहिलेको घटनाक्रममा मलाई नै पीडितका रूपमा प्रस्तुत गरिएको छ ।’
फुयालका अनुसार उनले सापकोटाले प्रधानमन्त्रीको नाम दुरुपयोग गर्दै न्यायाधीशहरूलाई प्रभावित पार्न खोजेको आशंकामा उजुरी दिएका थिए । उजुरी दिएको दुई–तीन दिनभित्रै सापकोटा पक्राउ परेको उनको दाबी छ ।
‘सुरुमा प्रधानमन्त्रीको मान्छे भन्दै आएका व्यक्तिले पछि विभिन्न मुद्दामा दबाब दिन थाले । त्यसपछि उनको वास्तविकताबारे बुझ्दा प्रधानमन्त्रीसँग सम्बन्धित व्यक्ति नभएको थाहा भयो । मैले उजुरी दिएँ र त्यसको लगत्तै उनी पक्राउ परे’, फुयालले भने ।
ह्वाट्सएप संवादबारे पनि उठेका छन् प्रश्न
यसअघि नयाँ पत्रिका दैनिकलगायत विभिन्न सञ्चारमाध्यममा फुयाल र सापकोटाबीच भएको भनिएको ह्वाट्सएप संवादसम्बन्धी सामग्री प्रकाशित भएका थिए ।
‘प्रधानन्यायाधीश र रास्वपा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव’ शीर्षकमा प्रकाशित समाचारमा उक्त संवादसँग सम्बन्धित विवरण सार्वजनिक गरिएको थियो ।
सापकोटाले प्रधानमन्त्री, विदेशी दूतावासका अधिकारी, नेपाली सेनाका प्रमुख तथा प्रधानन्यायाधीशसँग निकट सम्बन्ध रहेको दाबी गरेको विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।
त्यसैगरी होटल हिमालयमा भएको भेटमा सहभागी न्यायाधीशहरूको पहिचान, भेटको उद्देश्य, खर्चको बिल अर्को व्यक्तिको नाममा राखिएको भनिएको घटनाको वास्तविकता तथा विचाराधीन मुद्दामा दबाब दिइएको दाबीबारे थप प्रमाण आवश्यक छ ।
यो पनि पढ्नुस्ः
प्रतिनिधिसभा पुनःस्थापनाको सेटिङमा कसरी जोडिए न्यायाधीश फुयाल र बिचौलिया रु चीनबाट चोलेन्द्रसँग शर्माको पटक पटक फोनवार्ता
प्रधानन्यायाधीश र रास्वपा सांसदको नाममा अमेरिकामा रकम जम्मा गर्ने यस्तो छ संवाद , न्यायाधीशले बिचौलियालाई होटलमा भेट्न गएको दाबी




















