काठमाडौं –सर्वोच्च अदालतदेखि विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च राजनीतिक, न्यायिक र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग गहिरो सेटिङ रहेको खुलासा भएको छ।
यसको परीक्षण गर्दा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सर्वोच्चका न्यायाधीश हरि फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा तत्कालीन नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका बर्खास्तमा परेका एआईजी बंशीराज (पञ्चराज) दाहालसम्मको नाम फेला परेको हो।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय (डिजिटल फरेन्सिक ल्याब) ले बिचौलिया सापकोटाको ह्वाट्सएप र मोबाइल डेटा र चोलेन्द्रको पक्राउपछि यस्तो रहस्य खुल्दै गएको हो ।
नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूका अनुसार यस सेटिङ प्रकरणको लहरो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नियन्त्रणबाट तानिएको हो।
प्रहरीले जबरालाई नियन्त्रणमा लिई उनको मोबाइल अनुसन्धान गर्दा झापा दमक घर भएका ३० वर्षीय युवा इनम सापकोटासँगको शङ्कास्पद संवाद र लेनदेनको प्रमाण भेटिएको थियो।
तत्कालीन प्रधानन्यायाधीश जबराकै निवासबाट अदालतको मुद्दा सेटिङ गर्ने कार्यमा हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेल सक्रिय रहेको स्रोतको दाबी छ।
उनीहरूले अदालतमा मुद्दा अनुकूल बनाउने र त्यसबापतको घुस रकम बिचौलिया इनममार्फत देश तथा विदेशका विभिन्न बैंक खातामा राख्ने गरेको खुलेको दाबी प्रहरीले गरेको छ। प्रहरीको अनुसन्धानमै रहेको विषयमा प्रयोगशालाको डकुमेन्ट बाहिरिएपछि अर्को विवाद उत्पन्न हुने अवस्था पनि आएको छ ।
नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको सरकारी छाप लगाएर सार्वजनिक कागजातअनुसार बिचौलिया सापकोटाले अमेरिका र नेपालका बैंक खातामा घुस रकम जम्मा गर्नका लागि खाता विवरणहरू पठाएको भेटिएको छ।
उक्त कागजातमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको गरेर कूल १ लाख ९८ हजार ३ सय ३३ रकम र त्यसमा कर कटाउँदा १ लाख ७४ हजार ३ सय ३३ हुने उल्लेख छ। सो रकमको मुनितिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुंगा (विश्वराज पोखरेल) र वंशी दाहाल (आईजी एपीएफ) को नाम स्पष्ट लेखिएको छ। तर दाहाल यही प्रकरणमा एआईजीमै रहेका बेला इनमसँगको कनेक्सनले निलम्बनपछि बर्खास्तीमा परिसकेका छन् ।
सापकोटाले उक्त रकम अमेरिकामा रहेका आफ्ना सालो नीराजन पाण्डेको नाममा रहेको बैंक अफ अमेरिकाको खातामा ७,५०० अमेरिकी डलर जम्मा गर्न भनेका छन्। नेपाली बैंकमा जम्मा गर्ने भए इनमकी श्रीमती कविता पाण्डेको नाममा रहेको सानिमा बैंकको खाताको विकल्प दिइएको छ। यो कारोबार विवरण गत वर्ष अन्तिममा भएको अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
सशस्त्रका एआईजी बर्खास्तपछि प्रधानन्यायाधीश र सांसदमाथि प्रश्न
बिचौलिया सापकोटासँगको शङ्कास्पद सम्बन्ध र ह्वाट्सएपमा नाम उल्लेख भएकै आधारमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज (पञ्चराज) दाहाल भने निलम्बनपछि सेवाबाट बर्खास्त भइसकेका छन्।
यद्यपि, सोही कागजात र संवादमा स्पष्ट नाम र रकमको लेनदेन जोडिएका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलमाथि औपचारिक छानबिन भएको छैन। पोखरेलले आफ्नी सालीसमेतका नाममा अर्बौँ रुपैयाँ अवैध रूपमा जम्मा गरेको अनुसन्धान स्रोतको भनाइ छ।
यही प्रकरण बालुवाटार पुगेपछि बुधबार प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६ घण्टा लामो संवाद गरिसकेका छन् । त्यहाँ नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार र सर्वोच्चका न्यायाधीश हरि फुयाल र प्रन्या शर्माबारे पनि कुरा भएको स्रोतको दाबी छ।
न्यायाधीश फुयाँलसँग ‘प्रधानमन्त्री’को नाममा संवाद
प्रहरीले बरामद गरेको ह्वाट्सएप च्याटअनुसार सापकोटाले सर्वोच्च अदालतका अर्का न्यायाधीश हरि फुयाँलीसँग पनि सिधा संवाद गरेको पाइएको छ। सापकोटाले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै न्यायाधीश फुयाँललाई ‘पीएम ह्याज आस्क्ड इट बिट सिरियस्ली। खारेज नै गरिदिनु होला है त हजुर’ भन्दै म्यासेज पठाएका खुलेको छ।
उक्त म्यासेजपछि न्यायाधीश फुयाँलले साँझ ७ बजे ‘होटल हिमालय’ मा भेट्न समय दिएको च्याट विवरणमा देखिन्छ। तर यो कहिले च्याट भएको थियो भन्ने पुष्टि भएको मिति खुलेको छैन ।
यसका साथै, सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाहको नामसमेत दुरुपयोग गरी न्यायाधीशहरूलाई फोन गर्ने र मुद्दामा सेटिङ गर्ने गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय सञ्जाल र भीआईपी सेटिङ
गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाको सञ्जाल नेपालमा मात्र नभई विदेशसम्म फैलिएको पाइएको छ। उनको सिङ्गापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट रहेको अनुसन्धानले देखाएको छ। उनले सिङ्गापुरको सिम प्रयोग गरी नेपालका भिआइपीहरूसँग संवाद र लेनदेनका काम अमेरिका, सिङ्गापुर तथा दुबईमा गरेको बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम कांग्रेस नेता बालकृष्ण खाँणलाई छुटाउने सेटिङमा सापकोटाकै भूमिका रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले शंका गरेका छन् । आईजीपी दानबहादुर कार्की र एआईजी राजन अधिकारीले समेत उनलाई सूचना दिने गरेको भेटिएपछि प्रम वालेन्द्र सम्भावित एक्सनको तयारीमा जुटेका छन्।
झापाका सामान्य युवालाई अगाडि सारेर सर्वोच्च अदालतका न्यायाधीश, उच्च राजनीतिज्ञ र सुरक्षा निकायका नेतृत्वले गरेको यो अन्तर्राष्ट्रिय तहको भ्रष्टाचार र सेटिङले नेपालको न्यायिक तथा राजनीतिक वृत्तमा भुइँचालो ल्याइदिएको छ।






















