images
images
  • स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिवद्धतापत्र सार्वजनिक, दाङमा व्यापारिक मेला नगरिने

    दाङ– उद्योग वाणिज्य संघ दाङको आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका स्वतन्त्र युवा व्यावसायिक प्यानलले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

    प्यानलले ‘समृद्ध दाङ, सशक्त व्यवसायी : सबल र गतिशील उद्योग वाणिज्य संघ’ भन्ने नारासहित व्यवसायी हित, संस्थागत सुधार, औद्योगिक पूर्वाधार विकास, लगानी प्रवर्द्धन र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै हिजो मंगलबार प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

    प्यानलले आगामी शनिबार हुने निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा दाङको आर्थिक, सामाजिक तथा व्यावसायिक रूपान्तरणमा उद्योग वाणिज्य संघलाई थप प्रभावकारी बनाउने उल्लेख गरेको छ । संघलाई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा, भरपर्दो र गतिशील अभिभावक संस्थाका रूपमा विकास गर्ने प्रतिवद्धता प्यानलले जनाएको छ ।

    प्यालनका तर्फबाट अध्यक्षका उमेदवार अनिल आचार्यले प्रतिवद्धता पत्रको डिजिटल प्रति सार्वजनिक गरेका थिए । वरिष्ठ उपाध्यक्ष शरद प्रसाद अधिकारीले प्रतिवद्धतापत्र प्रस्तुत गरेका थिए । जसमा मुख्यगरी पाँचवटा विषयलाई समेटिएको छ ।

    संस्थागत सुद्धीकरण तथा नीतिगत पहल गर्ने कुरा, व्यावसायिक हित, सुरक्षा तथा व्यावसायिक प्रवर्द्धन, औद्योगिक पूर्वाधार र स्थानीय अर्थतन्त्रको विकास, व्यावसायिक पहुँच, लगानी प्रवर्द्धन र नीतिगत पैरवी र समसामयिक एजेण्डाहरू रहेका छन् ।

    प्रतिवद्धता पत्रमा संघको वर्तमान आर्थिक तथा संस्थागत अवस्थालाई पारदर्शी बनाउन श्वेतपत्र जारी गर्ने, घोराहीसहित समग्र दाङको आर्थिक विकासका लागि वृहत् आर्थिक मार्गचित्र निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गर्ने योजना अघि सारिएको छ । प्रदेश राजधानी दाङमा रहेकाले प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी जिल्लाको आर्थिक विकासका लागि ठोस कार्ययोजना बनाउने पनि प्यानलको प्रतिवद्धता छ ।

    त्यस्तै, दाङका सबै उद्योग वाणिज्य संघ, पूर्वअध्यक्ष तथा व्यावसायिक नेतृत्वबीच नियमित संवाद र छलफल गरी आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्ने योजना अघि सारिएको छ । संघको संस्थागत उपस्थिति स्थानीय तह, प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायमा थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि प्यानलले जनाएको छ ।

    व्यवसायीका समस्या समाधानका लागि विशेष संयन्त्र र आकस्मिक समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न हेल्पडेस्क स्थापना गर्ने प्रस्ताव प्रतिवद्धतापत्रमा समेटिएको छ । साना व्यवसायीको संरक्षण, ठूला व्यवसायीलाई प्रोत्साहन तथा खुद्रा र साना व्यवसायीलाई संगठित गर्दै व्यवसाय विस्तार र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने प्यानलको योजना छ ।

    परम्परागत रूपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई नयाँ प्रविधि, डिजिटल रूपान्तरण तथा बजारका नयाँ आयामबारे जानकारी गराउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको । नापतौल, मूल्य तथा गुणस्तर अनुगमनलाई सहज र पारदर्शी बनाउने तथा व्यवसायी र उपभोक्ताबीच नियमित अन्तरक्रिया गर्ने योजना पनि अघि सारिएको छ ।

    दाङमा सञ्चालित इँट्टा उद्योगलगायत उत्पादनमूलक उद्योगका समस्या समाधानका लागि स्थानीय तह र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता प्यानलले जनाएको छ । वातावरण, कच्चा पदार्थ र बजारसम्बन्धी समस्यालाई सम्बोधन गर्दै उत्पादनमूलक उद्योगलाई व्यवस्थित बनाउने एजेण्डा प्रतिवद्धतापत्रमा राखिएको छ ।

    औद्योगिक पूर्वाधार विकासलाई पनि प्यानलले प्राथमिकतामा राखेको छ । दाङमा औद्योगिक क्षेत्र स्थापना, बजार व्यवस्थापन तथा सडक र यातायात सञ्जाल विस्तारका लागि दबाब र पहल गर्ने उल्लेख छ । जिल्लाको आर्थिक तथा पर्यटकीय सम्भावना विस्तारका लागि टरिगाउँ विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नतिका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता पनि प्यानलले जनाएको छ ।

    घोराहीलगायत प्रमुख बजार क्षेत्रमा रात्रिकालीन व्यवसाय प्रवर्द्धनका लागि सुरक्षा, पूर्वाधार र नीतिगत पहल गर्ने योजना पनि सार्वजनिक गरिएको छ । जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्र जोड्ने सडक र यातायात कनेक्टिभिटी सुधारका लागि दबाब तथा जागरण अभियान सञ्चालन गर्ने प्रतिवद्धता छ ।

    व्यवसायीलाई वित्तीय पहुँच सहज बनाउन बैंक, वित्तीय संस्था तथा सहकारीसँग समन्वय गरी सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण निर्माणका लागि पहल गर्ने प्यानलले जनाएको छ । चर्को ब्याजदर, प्रिमियममा हुने अस्वाभाविक वृद्धि तथा तरलता समस्याका विषयमा नेपाल राष्ट्र बैंक र वित्तीय संस्थासँग नीतिगत पैरवी गर्ने योजना पनि अघि सारिएको छ ।

    त्यसैगरी, व्यवसाय दर्ता, नवीकरण, कर तथा राजस्व परामर्श र व्यावसायिक इजाजतपत्रका काममा सहजीकरण गर्न संघमार्फत एकल बिन्दु सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । नापतौल तथा गुणस्तर परीक्षणसम्बन्धी सेवा जिल्लामै सहज रूपमा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता पनि प्यानलले जनाएको छ ।

    कोभिडपछिको आर्थिक मन्दी, उच्च ब्याजदर, प्राकृतिक विपद् तथा अन्य कारणले समस्यामा परेका साना तथा मझौला व्यवसायीका लागि राहत, कर छुट तथा ऋण पुनर्संरचनाको माग सरकार र राष्ट्र बैंकसमक्ष राख्ने प्यानलको योजना छ । कर, राजस्व तथा नियमनसम्बन्धी जटिलता हटाउन स्थानीय तह र सम्बन्धित राजस्व निकायसँग सहजीकरण गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।

    दाङको कृषि तथा जडीबुटी क्षेत्रलाई उद्योगसँग जोड्न कृषि प्रशोधन केन्द्र तथा शीतभण्डार निर्माण र सञ्चालनका लागि निजी–सरकारी साझेदारीमा काम गर्ने, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने एजेण्डा पनि अघि सारिएको छ ।

    व्यावसायिक हितमा प्रतिकूल असर पर्ने गरी मेला तथा महोत्सव सञ्चालन नगर्ने नीति लिने बताउँदै प्यानलले युवा तथा महिला उद्यमीलाई उद्यमशीलतामा आकर्षित गर्न सहुलियतपूर्ण कर्जा, स्टार्टअप सहयोग, तालिम तथा बजारीकरणका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ । प्यानलले आफ्नो प्रतिवद्धताको मूल आधारका रूपमा ‘सुरक्षित व्यवसाय, सबल पूर्वाधार र पारदर्शी नेतृत्व–समृद्ध दाङको बलियो आधार’ भन्ने संकल्प अघि सारेको छ ।

    यस निर्वाचनमा स्वतन्त्र युवा व्यावसायिक प्यानलबाट अध्यक्षमा अनिल आचार्य, वरिष्ठ उपाध्यक्षमा शरद अधिकारी, सचिवमा गणेश पाण्डेय, सहकोषाध्यक्षमा ललित बेल्बासे र सदस्यमा तिलकबहादुर वली उम्मेदवार बनेका छन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, निवर्तमान जिल्ला अध्यक्ष दुर्गालाल केसी लगायतको सहभागिता थियो ।

    उद्योग वाणिज्य संघ दाङको नयाँ नेतृत्व चयनका लागि असोज २४ गते निर्वाचन हुँदैछ । निर्वाचन अघि स्वतन्त्र युवा व्यावसायिक प्यालनलले आफ्ना एजेण्डा र प्रतिवद्धता सार्वजनिक गर्दै व्यवसायीबीच पुग्ने क्रमलाई तीव्र बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images