images
images
  • बी-३४५ हवाई मार्ग दुईतर्फी गर्ने सहमति: बन्ला सिमराको विकल्प ?

    काठमाडौं– नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ जोड्ने बी-३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपालको नागरिक उड्डयन क्षेत्र, विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ।

    दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी-३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने विषय समेटिएको छ। यसअघि नेपालबाट भारततर्फ जाने विमानले मात्र प्रयोग गर्न पाउने यो मार्ग अब भारतबाट नेपाल प्रवेश गर्ने विमानका लागि समेत खुला गर्ने सहमति भएको हो।

    बी-३४५ दुईतर्फी हुनुको सबैभन्दा प्रत्यक्ष लाभ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पाउन सक्ने सम्भावना छ। रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२२ मे १६ देखि सञ्चालनमा आएको हो। लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, पश्चिम नेपालमा हवाई पहुँच विस्तार गर्ने र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने उद्देश्यले यो विमानस्थल निर्माण गरिएको थियो।

    तर विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। यसको एउटा कारण अन्तर्राष्ट्रिय विमानका लागि सहज प्रवेश मार्गको अभाव पनि हो।

    पश्चिमी दिशाबाट भैरहवा आउने विमानले सहज रूपमा नेपाल प्रवेश गर्न नसक्दा सिमरा हुँदै लामो दूरी पार गर्नुपर्ने अवस्था रहँदै आएको छ। यसले विमानको उडान समय, इन्धन खर्च र सञ्चालन लागत बढाउँदै आएको छ।

    GB international airport e1795439077216
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

    अब बी-३४५ दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आएमा लखनउ हुँदै भैरहवाबाट नेपाल प्रवेश गर्ने विकल्प उपलब्ध हुनेछ। यसले भारतका उत्तरी सहरसँग भैरहवाको हवाई सम्पर्क विस्तार गर्न र विमान कम्पनीलाई नयाँ उडान सञ्चालनबारे सोच्न प्रोत्साहित गर्न सक्छ।

    नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा एउटा प्रमुख समस्या सीमित प्रवेश मार्गमा निर्भरता हो। दैनिक करिब १०० देखि ११५ अन्तर्राष्ट्रिय उडानमध्ये ठूलो हिस्सा सिमरा प्रवेश मार्गबाट नेपाल आउने गरेको प्रकाशित विवरणहरूले देखाउँछन्।

    पश्चिमबाट नेपाल आउने विमानले पनि सिमरा हुँदै प्रवेश गर्नुपर्ने अवस्थाले भैरहवा र पोखरा जस्ता गन्तव्यका लागि अतिरिक्त दूरी सिर्जना गर्दै आएको छ। बी-३४५ को दुईतर्फी सञ्चालनले विशेषगरी लखनउ तथा त्यस आसपासबाट आउने विमानलाई वैकल्पिक प्रवेश मार्ग उपलब्ध हुनेछ। जसले उडानको उत्पत्ति, गन्तव्य र स्वीकृत रुटअनुसार यसले दूरी तथा समय दुवै घटाउनेछ।

    नेपालले सन् २००९ देखि नै भारतसँग थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको माग गर्दै आएको छ। सीमित प्रवेश मार्गका कारण नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रले लामो समयदेखि भौगोलिक र सञ्चालनसम्बन्धी चुनौती सामना गरिरहेको छ। एउटा मार्गमा अत्यधिक निर्भर हुँदा हवाई ट्राफिक व्यवस्थापनमा समेत दबाब पर्दै आएको छ।

    बी-३४५ दुईतर्फी हुँदा नेपालले भारतसँग जोडिने एउटा थप वैकल्पिक प्रवेश व्यवस्था प्राप्त गर्नेछ। यसले नेपालको हवाई सम्पर्कलाई विविधीकरण गर्न, अन्तर्राष्ट्रिय विमानको आवागमन व्यवस्थापनमा लचकता ल्याउन र पश्चिमी क्षेत्रबाट हुने हवाई यात्रालाई सहज बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    बी-३४५ को सहमतिपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सकिने सम्भावना बढेको छ। यसले लुम्बिनी आउने धार्मिक पर्यटक, भारतीय पर्यटक र पश्चिम नेपाल भ्रमण गर्न चाहने यात्रुलाई प्रत्यक्ष लाभ पुग्न जानेछ। साथै यस क्षेत्रमा होटल, यातायात, ट्राभल एजेन्सी, पर्यटन व्यवसाय र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पार्नेछ।

    सहमति भयो, छैन कार्यान्वयनको मिति ?

    संयुक्त वक्तव्यमा बी-३४५ लाई दुईतर्फी सञ्चालन गर्ने सहमति उल्लेख भए पनि यसको कार्यान्वयनको निश्चित मिति सार्वजनिक भइसकेको छैन। दुवै देशका नागरिक उड्डयन निकायले प्राविधिक परामर्शमार्फत उडान मार्ग, उचाइ, हवाई ट्राफिक व्यवस्थापन, सीमा क्षेत्रको सुरक्षा र आकस्मिक अवस्थाको प्रक्रियालगायत विषय टुंग्याउन बाँकी नै छ।

    नेपाल र भारतबीच विगतमा पनि हवाई प्रवेश मार्गका विषयमा विभिन्न समयमा छलफल र सहमति भएका छन्। तर कतिपय विषय प्राविधिक तथा सुरक्षा चासोका कारण लामो समयसम्म कार्यान्वयनमा जान सकेका छैनन्।

    विशेषगरी महेन्द्रनगर हुँदै अन्तर्राष्ट्रिय विमान प्रवेश गराउने एल-६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने विषय नेपालको महत्त्वपूर्ण माग हो। यो मार्ग उपलब्ध नभएसम्म पश्चिमी दिशाबाट आउने सबै अन्तर्राष्ट्रिय विमानका लागि सहज र छोटो प्रवेश व्यवस्था सुनिश्चित हुनेछैन।

    त्यसैले बी-३४५ को सहमतिलाई नेपालको सम्पूर्ण हवाई प्रवेश मार्गसम्बन्धी समस्या समाधान भएको अर्थमा बुझ्न नमिल्ने उड्डयन विश्लेषकहरु बताउँछन्। तैपनि काठमाडौं-भैरहवा-लखनउ बी-३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने नेपाल-भारत सहमति नेपालको नागरिक उड्डयन क्षेत्रमा नयाँ सम्भावना खोल्ने निर्णय भएको उनीहरुको भनाइ छ।

    उनीहरुका अनुसार यसले नेपालको अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको विकल्प विस्तार गर्नेछ। भैरहवा विमानस्थलको सञ्चालन सम्भावना बढाउनेछ। पश्चिम नेपाल र लुम्बिनीको पर्यटनलाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्ने अवसर सिर्जना गर्नेछ। विमान कम्पनीको उडान दूरी र सञ्चालन खर्च घटाउन सहयोग पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images