काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको प्रमुख कारणमध्ये भारतले आवश्यक हवाई रुट उपलब्ध नगराउनु पनि हो ।
नेपालले सन् २०१० देखि नै भारतसँग महेन्द्रनगर, भैरहवा, नेपालगञ्ज र जनकपुर हुँदै अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुट माग्दै आएको छ ।
तर, भारतले सुरक्षा संवेदनशीलता देखाउँदै अहिलेसम्म अनुमति दिएको छैन ।
पछिल्लो समय भारतले भैरहवा विमानस्थलका लागि एयरस्पेस दिन सकारात्मक संकेत गरे पनि त्यसको बदलामा झापाको नेपाली आकाश हुँदै बागडोग्रा विमानस्थलसम्म हवाई रुट मागेको छ ।
बागडोग्रा विमानस्थल सैनिक प्रयोजनमा समेत प्रयोग हुने भएकाले भारतको प्रस्तावमा नेपालले थप अध्ययन आवश्यक ठानेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार भारतले आफ्नो सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि हुने भन्दै माग गरिएका रुटमा प्रतिबन्ध लगाउँदै आएको छ ।
केही रुटमा १७ देखि १८ हजार फिटभन्दा माथिबाट मात्र जहाज उडाउन सकिने प्रस्तावसमेत गरिएको छ ।
यसले उडान दूरी, समय र इन्धन खर्च बढाउने भएकाले वायुसेवा कम्पनीहरू आकर्षित हुन सकेका छैनन् ।
हाल अधिकांश अन्तर्राष्ट्रिय जहाज सिमराको आकाश हुँदै नेपाल प्रवेश गर्छन् ।
यही रुटबाट काठमाडौं पुग्न करिब आठ मिनेट लाग्ने भए पनि भैरहवा पुग्न ३० र पोखरा पुग्न ४० मिनेट लाग्छ ।
लामो दूरीका कारण एउटा न्यारोबडी जहाजलाई थप करिब तीन हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान छ ।
यसको प्रत्यक्ष असर पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा परेको छ ।
अर्बौं रुपैयाँ लगानीमा निर्माण गरिएका यी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेका छैनन् ।
यात्रु अभाव र सञ्चालन खर्च महँगो हुनुका साथै सहज हवाई रुट नहुनु वायुसेवा कम्पनीहरूको मुख्य समस्या बनेको छ ।
नेपालले माग गरिरहेका रुटमध्ये महेन्द्रनगरको आकाशलाई सबैभन्दा उपयोगी मानिएको छ ।
यसबाट पश्चिमतर्फबाट आउने जहाजलाई काठमाडौं, पोखरा र भैरहवा पुग्न सहज हुने तथा उडान समय २० देखि २५ मिनेटसम्म घट्न सक्ने विज्ञहरूको भनाइ छ ।
तर, भारतले बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश मागेपछि विषय थप संवेदनशील बनेको छ ।
नागरिक उडानका लागि रुट उपलब्ध गराउने विषयमा आपत्ति नरहे पनि सैनिक प्रयोजनका लागि नेपाली आकाश प्रयोग गर्न दिने विषयमा राष्ट्रिय सुरक्षा र क्षेत्रीय रणनीतिक प्रभावसमेत अध्ययन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयमा ठोस सहमति जुट्न सके पोखरा र भैरहवा विमानस्थलको सञ्चालन, पर्यटन प्रवर्द्धन र नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






















