images
images
  • एनपिएल : घरेलु खेलाडीको निराशाजनक प्रदर्शन, महँगो मूल्य चौपट

    काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा नाम चलेका नेपाली खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

    राष्ट्रिय टोलीका सदस्यदेखि महँगो मूल्यमा अनुबन्धित खेलाडीसम्म ब्याटिङ र बलिङमा प्रभाव जमाउन असफल भए ।

    यसपटक आसिफ शेख, सन्दीप लामिछाने, गुल्सन झा, कुशल मल्ल, अनिलकुमार साह र ललित राजवंशीजस्ता खेलाडीको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो ।

    लुम्बिनी लायन्सका ओपनर आसिफ शेखले आठ इनिङ्समा ११२ रन मात्रै बनाए ।

    मिनी अक्सनमा १५ लाख रुपैयाँमा अनुबन्धित उनले विराटनगरविरुद्ध सर्वाधिक ४५ रन बनाएका थिए ।

    विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले सात खेलमा सात विकेट लिए ।

    चार खेलमा विकेटविहीन रहेका उनले पोखराविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिए पनि समग्र प्रदर्शन प्रभावकारी हुन सकेन ।

    काठमाडौं गोर्खाजका आदिल आलमले पाँच खेलमा ३८ रन मात्रै बनाए भने विकेट लिन सकेनन् ।

    जनकपुर बोल्ट्सका अनिलकुमार साहले पाँच इनिङ्समा २३ रन मात्र जोड्दा मार्की खेलाडी ललित राजवंशीले सात खेलमा ६ विकेट लिए ।

    त्यस्तै, कर्णाली याक्सका गुल्सन झाले सात खेलमा ९६ रन बनाए पनि विकेट लिन सकेनन् ।

    नन्दन यादवले पनि सात खेलमा पाँच विकेट मात्रै हात पारे ।

    चितवन राइनोजका कुशल मल्लले ६ खेलमा ५८ रन र दुई विकेटमा सीमित रहे ।

    काठमाडौंका भीम सार्कीले सात इनिङ्समा ७६ रन बनाउँदा लुम्बिनीका सन्दीप जोराले ६ इनिङ्समा ९५ रन मात्रै बनाउन सके ।

    प्रतियोगितामा केही नयाँ खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आफूलाई स्थापित गरे पनि अनुभवी र चर्चित खेलाडीको कमजोर प्रदर्शनले टोलीको नतिजामा समेत असर पारेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images