काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबार दुईदिने भारतको राजकीय भ्रमण सुरु गर्दैछन् । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर धेरैले आशा र अपेक्षाहरु सार्वजनिक गरेका छन् । नेपाल तथा भारतमा रहेका राजनीतिक दलका नेताहरु, विश्लेषकहरु, परराष्ट्रविद्हरुले आआफ्नो सुझाव तथा धारणाहरु राख्दै आएका छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका बारेमा भारतका सञ्चारकर्मीहरुले पनि प्राथमिकताका साथ चासो दिइरहेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन भारत भ्रमण दुबै देशका लागि उपलब्धिमूलक हुने अपेक्षा गरेका छन्। उनीहरुले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण राजनीतिक रुपमा मात्र सीमित नरही व्यावहारिक रुपमा पनि महत्त्वपूर्ण सावित हुनुपर्ने औंल्याएका छन् ।
‘रोटी-बेटी’ को सम्बन्धको रुपमा रहेको नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
भारतीय पत्रकार युनियनका अध्यक्ष तथा प्रेस काउन्सिल इन्डियाका सदस्य वरिष्ठ पत्रकार गीतार्थ पाठकले प्रधानमन्त्री बालेनको भ्रमण केवल कूटनीतिक औपचारिकतामा मात्र सीमित रहन नहुने बताए ।
दुई निकट छिमेकी मुलुकबीचको सम्बन्ध, आपसी संवेदनशीलता, रचनात्मक संवाद र साझा समृद्धिका लागि इमानदार प्रतिबद्धतामार्फत मात्र दुई देशको सम्बन्ध फस्टाउन सक्ने उनको भनाइ छ ।
त्यस्तै भारतको संघीय राजधानी नयाँ दिल्ली केन्द्रित वैदेशिक मामिलामा रिपोर्टिङको लामो अनुभव सँगालेका स्वतन्त्र अग्रज पत्रकार उमाशंकर सिंहले भारत र नेपालबीचको सम्बन्ध आपसी विश्वासको ठूलो संकटबाट गुज्रिरहेको वर्तमान समयमा नेपालका प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध सुधारको दिशामा सहजीकरण गर्ने अपेक्षा राखे ।
नेपाली र भारतीय पत्रकारहरुको साझा संस्था मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीले भारत-नेपाल सीमामा शताब्दिीयौँदेखि चल्दै आएको ‘छोटी भन्सार’ व्यवस्थालाई पुनः सक्रिय गर्न र यसबाट साना व्यापारी र आम नागरिकलाई आवतजावतमा भइरहेको समस्या कम गर्न पहल गरी सीमा क्षेत्रमा रोजगारी बढाउन नेपालका प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।
भारत उत्तराखण्डको पिथौरागढ केन्द्रित अग्रज पत्रकार तथा दैनिक भास्करका जिल्ला प्रभारी राजेश पंगरियाले प्रधानमन्त्री बालेनको यो भ्रमण केवल औपचारिक भेटघाटमा मात्र सीमित नरही यसको लाभ सीमावर्ती क्षेत्रका आम नागरिकसम्म पुग्नुपर्ने बताए ।
यस्तै पश्चिम बङ्गालस्थित कोलकातामा रहेर पत्रकारिता गर्ने दार्जिलिङ टुडेकी सम्पादक इन्द्राणी दास गुप्ताले प्रधानमन्त्रीको यो भ्रमण नेपाल र भारत दुवैका लागि ठूलो अपेक्षाको विषय भएको बताइन्।





















