images
images
  • रियादको वित्तीय केन्द्रलाई सैन्य निशाना बनाउने हुथीको घोषणा

    काठमाडौं– यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित वित्तीय केन्द्रलाई सैन्य निशाना घोषणा गर्दै त्यहाँबाट टाढा रहन सर्वसाधारणलाई चेतावनी दिएको छ।

    हुथी सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘हामी साउदी शत्रुको राजधानी रियादस्थित वित्तीय केन्द्रलाई आफ्ना सेनाका लागि सैन्य निशाना घोषणा गर्दछौँ।’

    उनले उक्त क्षेत्रमा कार्यरत कर्मचारी, कामदार तथा स्थानीय बासिन्दालाई तत्काल त्यहाँबाट टाढा रहन आग्रह गरेका छन्।

    साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेको होदेइदा बन्दरगाह खाली गर्न सर्वसाधारणलाई चेतावनी दिएपछि हुथीले साउदी अरबका विभिन्न निशानालाई लक्षित गर्दै दिएको यो पछिल्लो धम्की हो।

    यसअघि हुथी विद्रोहीले साउदी अरबको दक्षिणपश्चिमी क्षेत्रमा रहेको शुकाइक विद्युत् केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको थियो । यमनका दुईवटा विद्युत् केन्द्रमा भएको आक्रमणको जवाफमा उनीहरूले साउदी अरबको विद्युत् केन्द्रमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

    हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत साउदी अरबले यमनको सादा र मोखा विद्युत् केन्द्रमा आक्रमण गरेको भन्दै त्यसको जवाफमा शुकाइक विद्युत् केन्द्रलाई आगामी केही घण्टाभित्र आफ्ना सेनाका लागि वैध निशाना घोषणा गरिएको बताएका छन् ।

    उनले उक्त विद्युत् केन्द्रमा कार्यरत कर्मचारी तथा कामदारलाई तत्काल बाहिरिन चेतावनी दिएका छन् । साथै आसपासका बासिन्दालाई पनि विद्युत् केन्द्र नजिक नजान आग्रह गरेका छन् ।

    यसअघि हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल मसिरा टेलिभिजनले साउदी अरबले यमनको सादा सहरको उत्तरमा रहेको विद्युत् केन्द्र र लालसागर तटीय सहर मोखास्थित अर्को विद्युत् केन्द्रमा हवाई आक्रमण गरेको समाचार प्रसारण गरेको थियो ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images