काठमाडौं– नेकपा (एमाले)को राष्ट्रिय भेलाले आगामी स्थानीय तथा प्र्रदेश सभाको निर्वाचनमा नेकपा लगायत वामदलहरू र गैर वामदलसँगसमेत तालमेलको प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।
बिहीबारको बन्द सत्रमा यस सम्बन्धी प्रस्ताव पेश हुने स्रोतले बतायो ।
पार्टीभित्र उठ्दैे आएको नतृत्व हस्तान्त्रण र पुस्तान्तरणको विषय भने औपचारिक प्रवेश नै नपाउने भएको छ ।
आगामी स्थानीय तह निर्वाचनको रणनीति, संगठन परिचालन र राजनीतिक सहकार्यलाई मुख्य एजेन्डा बनाएको नेतृत्वले नेतृत्व हस्तान्तरणको बहसलाई कार्यसूचीबाहिरै राखेको छ ।
बुधबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय भेलाबाट पार्टी नेतृत्वले वामपन्थी दलहरूसँगको तालमेलदेखि अन्य राजनीतिक शक्तिसँगको सहकार्यमार्फत सम्भावित एकतासम्मको विषयमा म्यान्डेट लिने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको राजनीतिक कार्यदिशा र संगठनात्मक परिचालनबारे केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताबीच साझा धारणा बनाउने नेतृत्वको उद्देश्य छ ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रि राजनीतिको विश्लेषण, पार्टीको दृष्टिकोण र भावी कार्यदिशासहित राजनीतिक तथा संगठनात्मक विषय प्रस्तुत गर्नेछन् ।
पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले तय गरेका दुई प्रमुख कार्यभार र १५ कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय पनि भेलाको मुख्य एजेन्डा छ ।
राजनीतिक परिवर्तनका पक्षधर शक्तिसँग सहकार्य गर्ने र त्यसविपरीतका गतिविधिको सडक, संसद् तथा सबै मोर्चाबाट प्रतिवाद गर्ने नीतिलाई व्यवहारमा उतार्न नेतृत्वले भेलाबाट सुझाव र समर्थन जुटाउन खोजेको छ ।
यसका लागि स्थानीय निर्वाचनमा वामपन्थी तथा गैरवामपन्थी दलहरूसँग हुन सक्ने चुनावी तालमेलबारे पनि छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
भेलामा वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकता र आगामी जिम्मेवारीबारे धारणा राख्ने कार्यक्रम छ ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीका सम्बोधनले पार्टीको आगामी यात्रालाई ऊर्जा दिनेछन् ।
भेलामा केन्द्रीय नेतृत्व, जिल्ला तथा पालिका कमिटीका प्रतिनिधि, संघीय संसद् र प्रदेश सभाका सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुनेछन् ।
सहभागीमध्ये केन्द्रय कमिटीका ३४६, केन्द्रीय निकायका ८१, जिल्ला तहका ४४० र पालिका कमिटीका १ हजार ५०६ प्रतिनिधि छन् ।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रियसभाका ३५, प्रदेशसभाका १५५, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ र उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् ।
जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
भेलाको उदघाटन अध्यक्ष ओलीले गर्नेछन् ।
उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष, उपाध्यक्ष विष्णु पौडेलले सरकारमा रहँदा पार्टीले गरेका कामको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनको योजनाबारे प्रस्तुति दिने कार्यक्रम छ ।






















