images
images
  • आफ्नै टीमको कामबाट सन्तुष्ट छैनन् प्रधानमन्त्री, हटाइँदै आधा दर्जन मन्त्री

    काठमाडौं– सरकारको कार्यसम्पादनको विषयमा पार्टीभित्र र बाहिरबाट प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । अपेक्षाअनुसार काम गर्न नसकेको मूल्यांकनमा परेका मन्त्रीलाई हटाएर नयाँ अनुहारलाई सरकारमा सहभागी गराउने उनको तयारी छ ।

    प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको पछिल्लो भेटमा मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारको कामकारबाहीमा नयाँपन ल्याउन चाहेको बताएका छन् । स्रोतका अनुसार जवाफमा सभापति लामिछानेले भने मन्त्री परिवर्तनभन्दा सरकारको समग्र कार्यशैली सुधारमा आफ्नो चासो रहेको बताएका थिए । उनले सरकारको काम गर्ने तौरतरिकामै सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    प्रधानमन्त्रीको मूल्यांकनमा ६ मन्त्री कमजोर

    प्रधानमन्त्री शाहले तत्काल ६ मन्त्रीलाई हटाउने मनस्थिति बनाएको उनी निकट स्रोतको दाबी छ । हटाउने सूचीमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी रहेको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री बालेनले हटाउने सूचीमा छन् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र महिला बालबालिकामन्त्री सीता बादी ।

    यीमध्ये श्रेष्ठ, गौतम सभापति लामिछाने निकट हुन् भने मेहता, चौधरी र बादी प्रधानमन्त्री शाह निकट मानिन्छन् । प्रधानमन्त्रीले आफ्नै समूहका ४ मन्त्रीसमेत परिवर्तन गर्न खोजेको स्रोतको भनाइ छ । यद्यपि रास्वपाले मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल नभएको जनाएको छ । पार्टी प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पार्टीमा कुनै औपचारिक छलफल नभएको बताए ।

    सहप्रवक्ता सुरेन्द्र चौधरीले पनि पार्टीमा यसबारे छलफल नभएको स्पष्ट पारे । मन्त्रिपरिषद् पुनर्गठन पार्टीबाटै निर्णय गराउनुपर्ने विषय नभएको उल्लेख गर्दै उनले सभापति र प्रधानमन्त्रीबीचको आपसी संवादबाट यस्तो निर्णय हुनसक्ने बताए ।

    केन्द्रीय सदस्यका लागि बालेन समूहबाट २६ जनाको नाम

    मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै रास्वपाको केन्द्रीय समिति र पदाधिकारीलाई पूर्णता दिने विषय पनि अघि बढेको छ । महाधिवेशन भएको करिब साढे ४ महिना बितिसक्दा पनि पार्टीको केन्द्रीय समिति तथा पदाधिकारी संरचना पूर्ण हुन सकेको छैन ।

    गत असार ७ देखि १२ गतेसम्म सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा एकता कायम राख्ने उद्देश्यले बालेन शाह नेतृत्वको समूहलाई चुनावी प्रतिस्पर्धामा सहभागी गराइएको थिएन । उक्त समूहलाई मनोनयनमार्फत पार्टीको केन्द्रीय समिति र पदाधिकारीमा समेट्ने व्यवस्था गरिएको थियो ।

    तर प्रधानमन्त्री शाहले आफ्नो समूहबाट मनोनयनका लागि नाम टुंग्याउन ढिलाइ गर्दा पार्टीको संगठनात्मक संरचना विस्तार हुन सकेको छैन । अहिले भने बालेन समूहले केन्द्रीय सदस्यका लागि २६ जनाको नाम सभापति लामिछानेलाई बुझाएको छ ।

    रास्वपा स्रोतका अनुसार गत साता बुझाइएको उक्त नामावलीमाथि सभापति लामिछानेले निकट नेताहरूसँग छलफल गरिरहेका छन् । उनले प्रस्तावित २६ जनालाई नै जस्ताको तस्तै मनोनयन नगरी प्रत्येक व्यक्तिको पृष्ठभूमि अध्ययन गरेर उपयुक्त व्यक्तिलाई मात्रै जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ ।

    रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ । त्यसमा सभापतिले ५१ जना मनोनयन गर्न पाउने व्यवस्था छ । गत ५ भदौमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान, वसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । त्यसयता थप मनोनयन हुन सकेको छैन ।

    पाँच पदाधिकारी अझै रिक्त

    रास्वपाको १८ सदस्यीय पदाधिकारीमध्ये ११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले चयन गर्ने व्यवस्था छ । यसअन्तर्गत १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष चयन गर्न सकिन्छ । गत भदौ ५ को बैठकबाट सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ र प्रवक्तामा जगदीश खरेल चयन भएका थिए ।

    अझै उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष एकएक जना चयन हुन बाँकी छ । यी पद बालेन समूहका लागि छुट्ट्याइएको भए पनि उक्त समूहले पदाधिकारीका लागि नाम टुंग्याउन नसक्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । पदाधिकारी चयन हुन नसक्दा पार्टीको सचिवालयले समेत पूर्णता पाउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images