काठमाडौं– अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० सम्म मिसाइल रहेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो रिपोर्ट प्रकाशित गरेको हो ।
रिपोर्टअनुसार इरानसँग रहेका यी मिसाइलले पूर्णस्तरको युद्ध पुनः सुरु भएको अवस्थामा अमेरिका र उसका सहयोगी राष्ट्रका सैन्य अखडाहरूमा आक्रमण गर्न सक्ने पर्याप्त क्षमता राख्छन् ।
अमेरिकी अधिकारीहरूले इरानसँग रहेका मिसाइलको वास्तविक संख्या यकिन गर्न कठिन रहेको बताएका छन् । मिसाइलहरूको निगरानी गर्न र तिनको वास्तविक अवस्था पत्ता लगाउन चुनौतीपूर्ण रहेकाले यकिन तथ्यांक निकाल्न नसकिएको उनीहरूको भनाइ छ ।
इरानसँग रहेका मिसाइलमध्ये कति आक्रमणका लागि तयारी अवस्थामा छन् र कति भण्डारणमा छन् भन्ने विषयमा पनि अमेरिकी अनुमान पूर्ण विश्वसनीय नरहेको अधिकारीहरूले बताएका छन् । यद्यपि उनीहरूको निष्कर्षमा इरानसँग अझै ठूलो संख्यामा मिसाइलको भण्डार बाँकी छ ।
यसैबीच इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरान अब न युद्ध न शान्तिको अनिश्चित अवस्थामा बसिरहन नसक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानका सातवटा जायज सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने बताएका छन् ।
उनले भनेका छन्, ‘हामी न युद्धको अवस्थामा न शान्तिको अनिश्चिततामा बसिरहनेछौँ । अमेरिकाले हाम्रा सातवटा उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला हुनेछ । तर अमेरिकाले फेरि अर्को गल्ती गरेमा युद्धभूमिको स्वरूप इरानी सशस्त्र बलले निर्धारण गर्नेछन् ।’
त्यस्तै इरानले अमेरिकासँग आणविक कार्यक्रमका विषयमा कुनै पनि वार्ता नभएको स्पष्ट पारेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग सम्भावित सम्झौताका क्रममा युरेनियम सम्बर्ध्दन अस्थायी रूपमा रोक्ने वा यसको स्तर घटाउने विषयमा छलफल भइरहेको छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै त्यस्तो कुनै कुराकानी नभएको बताएका हुन् ।
‘होइन, हामी अहिले त्यस्तो चरणमा पुगेकै छैनौँ । यस अवधिमा आणविक मुद्दासँग सम्बन्धित विषयमा कुनै विस्तृत छलफल भएको छैन’, उनले भने ।
उनले अमेरिकालाई आफ्नो भूमिमा सैन्य आक्रमण गर्न सहयोग गरेको भन्दै क्षेत्रीय राष्ट्रहरूमाथि आरोप पनि लगाएका छन् ।
बघाईले यस विषयमा प्रमाणहरू संकलन गरिएको र कूटनीतिक माध्यमबाट सम्बन्धित राष्ट्रहरूको ध्यानाकर्षण गराइसकिएको बताए ।
उनका अनुसार अमेरिकी सेनालाई सहयोग पुर्याउन क्षेत्रका केही राष्ट्रले आफ्नो भूमिमा रहेका सैन्य अखडाबाट मिसाइल, ड्रोन तथा विमान सञ्चालन गर्न दिएको र अन्य सैन्य तथा रसदसम्बन्धी सहयोग उपलब्ध गराएको प्रमाण इरानसँग छ ।
‘इरानमाथि अमेरिकाले गरेको आक्रमणमा क्षेत्रीय राष्ट्रहरूको भूमिका रहेको देखाउने सबै घटनाको अभिलेखीकरण गरिएको छ । हामी यस विषयलाई गम्भीरतापूर्वक अघि बढाउनेछौँ’, बघाईले पत्रकार सम्मेलनमा भने ।
उनले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणबाट उत्पन्न हुने परिणामका लागि सहयोग गर्ने क्षेत्रीय राष्ट्रहरू पनि जिम्मेवार हुने दाबी गरे ।
आफ्ना छिमेकी राष्ट्रहरूमा इरानले गरेको आक्रमणको बचाउ गर्दै बघाईले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अनुसार आत्मरक्षाको अधिकार प्रयोग गरिएको बताएका छन् ।
उनले इरानले ती राष्ट्रहरूको सार्वभौमिकतामाथि कुनै आक्रमण नगरेको दाबी गर्दै आफ्ना आक्रमणहरू पूर्ण रूपमा रक्षात्मक प्रकृतिका रहेको बताए।
उनका अनुसार इरानले अमेरिका र इजरायलको आक्रमणमा प्रयोग भइरहेका अमेरिकी सैन्य अखडा तथा सैन्य संरचनालाई मात्र निशाना बनाएको हो ।






















