काठमाडौं– इटालीले सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटामाथि ८०५ मिलियन युरो जरिवाना लगाएको छ । एन्ड्रोइड प्रयोगकर्ताको स्पष्ट सहमतिविना उनीहरूको मोबाइलमा रहेका तस्बिर तथा भिडियोमा पहुँच बनाएको विषयमा इटालीले मेटामाथि यस्तो कारबाही गरेको हो ।
इटालीको डेटा संरक्षणसम्बन्धी नियामक निकायका अनुसार फेसबुक एपमा रहेको एउटा फिचरमार्फत मेटाले प्रयोगकर्ताको मोबाइल ग्यालरीमा भएका तस्बिर तथा भिडियो हेर्न सक्ने व्यवस्था थियो । तर यसबारे करिब दुई करोड प्रयोगकर्तालाई पर्याप्त र स्पष्ट जानकारी नदिइएको नियामकको निष्कर्ष छ ।
उक्त फिचरले प्रयोगकर्ताको मोबाइल ग्यालरीमा रहेका तस्बिर तथा भिडियोका आधारमा फेसबुकमा पोस्ट गर्न सकिने सामग्रीको सुझाव दिने काम गर्छ । यसका लागि फेसबुकले प्रयोगकर्तासँग एकपटक मात्रै एपमार्फत उनीहरूको सम्पूर्ण फोटो ग्यालरीमा पहुँचको अनुमति माग्ने गरेको थियो ।
तर अनुमति माग्दा त्यसको प्रयोग गरेर फेसबुकले प्रयोगकर्ताका तस्बिरका आधारमा पोस्टका सुझावसमेत दिन सक्ने विषय स्पष्ट रूपमा खुलाइएको थिएन । यसले प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता र तथ्यांक संरक्षणसम्बन्धी अधिकारमाथि प्रश्न उठाएको नियामकको भनाइ छ ।
इटालीको नियामक निकायले मेटालाई उक्त फिचर स्वतः सक्रिय हुने व्यवस्था रोक्न र प्रयोगकर्ताबाट छुट्टै तथा स्पष्ट अनुमति लिन ६० दिनको समय दिएको छ ।
नियामकका अनुसार यो समस्या ठूलो संख्यामा प्रयोगकर्तासँग सम्बन्धित छ । विशेषगरी फेसबुक एप अपडेट नगरेका वा यसअघि नै उक्त फिचर प्रयोग गर्न अनुमति दिइसकेका प्रयोगकर्ताका हकमा पनि समस्या कायमै रहेको छ ।






















