काठमाडौं– सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी अनु परियार र पाकिस्तानी युवक अब्दुल्लाहको सम्बन्ध इन्गेजमेन्टलगत्तै विवादमा परेको छ । अब्दुल्लाहको दुबईमा अर्की नेपाली युवतीसँग पनि प्रेम सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि उनीहरूको सम्बन्धमा नयाँ मोड आएको हो ।
अनु र अब्दुल्लाहले हालै इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्ट सार्वजनिक भएको केही घण्टामै दुबईमा बस्ने एक युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धबारे बहस सुरु भएको छ ।
अब्दुल्लाह र ती युवतीबीच लामो समयदेखि सम्बन्ध रहेको दाबी गरिएको छ । विवाद बढेपछि बुधबार राति सामाजिक सञ्जाल प्रयोगकर्ता फिटमिनको टिकटक लाइभमा अनु र सम्बन्धको दाबी गर्ने युवती जोडिएको बताइएको छ ।
सोही लाइभमा अनुले अब्दुल्लाहबाट आफूलाई धोका भएको भन्दै उनीसँग सम्बन्धमा नरहने बताएको विवरण सार्वजनिक भएको छ । अनुले अब्दुल्लाहलाई दुबई फर्काइदिने प्रतिक्रिया दिएको पनि सामाजिक सञ्जालहरूमा दाबी गरिएको छ ।
अनु र अब्दुल्लाहबीच टिकटक लाइभबाट चिनजान भएको बताइएको छ । अब्दुल्लाहले टिकटकमा उपहार पठाउने क्रममा उनीहरूबीच निकटता बढेको र पछि प्रेम सम्बन्धमा परिणत भएको विवरण सार्वजनिक भएको थियो ।
यसैबीच अब्दुल्लाहलाई प्रहरीको जिम्मा लगाउन खोजिएको र उनी रातारात सम्पर्कविहीन भएको दाबी पनि सामाजिक सञ्जालमा फैलिएको छ । उनी इन्गेजमेन्टका लागि नेपाल आएका थिए । अब्दुल्लाह अहिले कहाँ छन् भन्ने विषय पनि स्पष्ट हुन सकेको छैन ।
अर्की युवतीसँग सम्बन्ध रहेको आरोपबारे अब्दुल्लाहको प्रत्यक्ष प्रतिक्रिया भने सार्वजनिक रुपमा कतै आएको छैन ।





















