images
images
  • नयाँ पार्टनरको खोजीमा ४४ वर्षीया पप गायिका ब्रिट्नी स्पियर्स

    काठमाडौं- अमेरिकी पप गायिका ब्रिट्नी स्पियर्सले आफू नयाँ परिवारको खोजीमा रहेको बताएकी छन् । पारिवारिक सम्बन्ध पूर्ण रूपमा चिसिएपछि तनावमा रहेकी पपस्टार ब्रिट्नीले आफ्ना समर्थकहरूमाझ ढिलो-चाँडो आफूले नयाँ परिवार रोज्ने दृढता व्यक्त गरेकी हुन् ।

    केही समयअघि आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी ब्रिट्नीले आफूलाई उनीहरुले दाससरहको व्यवहार गरेको संगीन आरोप लगाएकी छन् । उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आरोप लगाएकी हुन् ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक र व्यावहारिक शोषण भएको गुनासोसँगै अब ‘नयाँ परिवार खोज्ने’ घोषणासमेत गरिन् ।

    britney spears1

    ब्रिट्नीले इन्स्टा पोष्टमा आफ्नै मान्छेहरूले आफूविरुद्ध पर्दा पछाडि अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् । उक्त पोस्टमा ब्रिट्नीले कोभिड महामारीका बेला आफ्नै घरमा भोगेका तीता अनुभवहरूको खुलासासमेत गरेकी छन् ।

    ‘कोभिड महामारीको समयमा लुइजियाना जाँदा बहिनी जेमी लिनले मलाई उनकी छोरी आइभीलाई एकपटक पनि समात्न दिइनन् । यता पूर्वपति केभिनले छोराहरूलाई लिन जाँदा उनीहरूको शौचालयसम्म प्रयोग गर्न दिएनन्’, उनले लेखेकी छन्, ‘उनीहरूले मलाई दास जस्तो अनुभव गराए । मेरो पछाडि उनीहरूका थुप्रै रहस्यमय गतिविधि हुन्थे । जबकि मैले जीवनभर केवल बुबाका लागि काम मात्र गरिरहें ।’

    हुन त ब्रिट्नी स्पियर्सको जीवनमा पारिवारिक हस्तक्षेप र नियन्त्रणको कथा लामो छ । सन् २००८ देखि सुरु भएको उनको बहुचर्चित र विवादित १३ वर्षे ‘कन्जर्भेटरसिप’ (कानुनी संरक्षकत्व) सन् २०२१ को नोभेम्बरमा मात्रै अन्त्य भएको थियो ।

    उक्त अवधिमा उनका बुबा जेमी स्पियर्सले ब्रिट्नीको व्यक्तिगत जीवन, वित्तीय मामिला र सांगीतिक करियरमाथि पूर्ण नियन्त्रण कायम राखेका थिए । संरक्षकत्वबाट मुक्त भए पनि परिवारसँगको उनको आन्तरिक कलह भने अझै साम्य हुन सकेको छैन ।

    britney spears2

    ब्रिट्नीका पछिल्ला केही वर्ष सांगीतिक भन्दा पनि व्यक्तिगत जीवनका उतारचढावले भरिएका छन् । उनी मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा कारबाहीमा समेत परेकी थिइन् । अदालतले उनलाई १२ महिनाको ‘प्रोबेसन’ (सशर्त छाडिने अवधि), ३ महिनाको सचेतना कक्षा तथा नियमित मनोवैज्ञानिक र मनोचिकित्सकसँगको परामर्शमा रहन आदेश दिएको थियो ।

    सांगीतिक तर्फ भने उनले अक्टोबरमा ‘सी विल नेभर बी मी’ नामको गीत सार्वजनिक गरेकी थिइन्, जुन उनले पूर्वप्रेमी जस्टिन टिम्बरलेकसँग मिलेर लेखेकी थिइन् । यो गीत मूलतः उनको सन् २००१ को आफ्नै नामको चर्चित एल्बम ‘ब्रिट्नी’ का लागि तयार पारिएको थियो । ब्रिट्नीको पछिल्लो सांगीतिक एल्बम ‘ग्लोरी’ सन् २०१६ मा सार्वजनिक भएको थियो ।

    पछिल्लो समय उनले आफ्ना सम्पूर्ण सांगीतिक क्याटलगको अधिकार ‘प्राइमरी वेभ’ नामक कम्पनीलाई बिक्री गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images