काठमाडौं- अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न अभियोजन पक्षले एउटै प्रमाणमा भर परेको थिएन ।
घटनास्थलमा भेटिएको रगत, डीएनए परीक्षण, शव टुक्राटुक्रा पार्न प्रयोग गरिएको आशङ्का गरिएको करौँती, इन्टरनेटमा गरिएको सामाग्री खोजी, सीसीटीभी फुटेज र नरेशका विरोधाभासपूर्ण बयानलाई एकसाथ प्रस्तुत गरिएको थियो ।
ममताको शव फेला नपरे पनि यी प्रमाणको समग्र मूल्याङ्कनले जुरीलाई नरेशविरुद्ध निष्कर्षमा पुग्न सहयोग गरेको देखिन्छ ।
१) शयनकक्षको कार्पेट र रगतको प्रमाण
अभियोजन पक्षले नरेश र ममता बस्ने घरको शयनकक्षबाट निकालिएको करिब आठ बाई १० फिटको कार्पेट अदालतमा प्रस्तुत गरेको थियो । कार्पेटमुनि रातो-खैरो रङका दाग भेटिएका थिए ।
प्रहरीले ब्लुस्टार नामक रासायनिक पदार्थ प्रयोग गरेर परीक्षण गर्दा सम्भावित रगतको सङ्केत देखिएको थियो । प्रयोगशालाको डीएनए परीक्षणले कार्पेटको दागमा ममता र दम्पतीकी छोरीको डीएनए रहेको मिश्रणसँग बलियो मेल देखाएको थियो ।
बाथटबमुनि पनि रातो-खैरो दाग भेटिएको अनुसन्धानकर्ताहरूले बताएका थिए । यसले बाथरुममा समेत रगत फैलिएको हुनसक्ने अभियोजन पक्षको दाबी थियो ।
२) करौँतीमा ममताको डीएनए
अभियोजन पक्षले नरेशले सन् २०२४ जुनमा होम डिपोबाट किनेको रयोबी ब्रान्डको पावरवाला करौँतीलाई महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको थियो । प्रहरीले उक्त करौँतीमा ममताको डीएनएसँग मेल खाने जैविक नमुना फेला पारेको थियो । करौँतीभित्रबाट लिइएको स्वाबसहितका नमुनामा पनि ममताको डीएनए प्रोफाइलसँग मेल देखिएको थियो ।
यसअघि नरेशले उक्त करौँती बगैँचामा काम गर्ने एक व्यक्तिलाई ज्यालाबापत दिएका थिए । ममता बेपत्ता भएको विषय सार्वजनिक भएपछि ती व्यक्तिले करौँती प्रहरीलाई बुझाएका थिए ।
३) इन्टरनेटमा गरिएका शङ्कास्पद खोजी
प्रहरीको डिजिटल फरेन्सिक अनुसन्धानले नरेशको गुगल खोज इतिहासमा विभिन्न शङ्कास्पद सामग्री फेला पारेको थियो । सन् २०२४ मार्चमै उनले ‘पति वा पत्नी हराएमा के हुन्छ ?’ र ‘पत्नी हराएपछि सम्बन्ध विच्छेद गर्न मिल्छ ?’ जस्ता प्रश्न खोजेको अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको थियो ।
त्यसैगरी मासु काट्ने उपकरण, धारिलो वस्तु, चक्कु धार लगाउने औजार र काठ काट्ने करौँतीबारे पनि खोजी गरिएको थियो ।
उनले एक वर्षभन्दा कम उमेरकी छोरीलाई साथीलाई दिन मिल्छ कि मिल्दैन भन्ने प्रश्नसमेत खोजेको डिजिटल अनुसन्धानकर्ताले बताएका थिए । यद्यपि प्रतिरक्षा पक्षले कतिपय खोजीको निश्चित समय र त्यसको उद्देश्य प्रमाणित नभएको भन्दै प्रश्न उठाएको थियो ।

४) सीसीटीभी र किनमेलको विवरण
प्रहरीले नरेशले विभिन्न स्थानमा फोहोर फाल्ने झोलाहरू बोकेर गएको र फोहोर थिच्ने मेसिनमा ती झोला फालेको देखिने निगरानी क्यामेराका दृश्य प्रस्तुत गरेको थियो । कतिपय दृश्यमा उनले पञ्जा लगाएको पनि देखिएको थियो ।
जुलाई ३१ मा उनले वालमार्टबाट सफाइका सामग्री, डिसइन्फेक्टेन्ट, कार्पेट सफा गर्ने पदार्थ र एयर फ्रेसनर किनेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।
५) मोबाइल र टेस्ला गाडीको गतिविधि
एफबीआईको विश्लेषणले नरेशको मोबाइल र टेस्ला गाडीको स्थानसम्बन्धी विवरण प्रस्तुत गरेको थियो । केही समयमा ममताको मोबाइल एउटै स्थानमा रहँदा नरेशको गाडी भने अन्यत्र गएको देखिएको थियो ।
६) वैवाहिक सम्बन्ध र नरेशको स्वीकारोक्ति
ममताका भाइ महेशले बहिनीले अनुहारमा चोट देखिने तस्बिर पठाएको र आफू असुरक्षित महसुस गरिरहेको बताएको बयान दिएका थिए । साथीहरूले पनि उनीहरूको सम्बन्धमा तनाव रहेको बताएका थिए ।
सबैभन्दा महत्त्वपूर्ण कुरा नरेशले अदालतमा ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका थिए । तर हत्या गरेको अस्वीकार गरेका थिए ।
अभियोजन पक्षले यी सबै प्रमाणलाई जोड्दै ममताको हत्या योजनाबद्ध रूपमा गरिएको दाबी गर्यो । प्रतिरक्षा पक्षले भने प्रमाण परिस्थितिजन्य भएको र मृत्युको कारण प्रत्यक्ष रूपमा प्रमाणित नभएको तर्क गरेको थियो । तर अन्ततः जुरीले प्रमाणको समग्र मूल्याङ्कन गर्दै नरेशलाई तीन वटै अभियोगमा दोषी ठहर गरेको छ ।





















