images
images
  • जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

    काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । अमेरिकी पत्रिका टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन् ।

    दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ ।

    विशेषगरी रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको जलवायु संकटबारे आवाज उठाउँदै आएका छन् । अर्थमन्त्री वाग्लेले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान निकै न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपाल जस्ता विकासशील देशले बढी भोग्नुपरेको विषय उठाएका छन् ।

    बाढीपछि नेपाल सरकारले जलवायु क्षतिपूर्तिका लागि विश्वका तीन ठुला हरितगृह ग्यास उत्सर्जक देश चीन, अमेरिका र भारतसँग औपचारिक आग्रह गरेको थियो । बाढीबाट भएको क्षतिको पुनःस्थापना र पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित कमजोर देशलाई सहयोग गर्न स्थापना गरिएको क्षति तथा नोक्सानी कोषबाट नेपाललाई आर्थिक सहायता उपलब्ध गराउन पहल गरेका थिए ।

    टाइमका अनुसार अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषबाट नेपाललाई दुई करोड १६ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । जलवायु परिवर्तनका कारण भएको क्षतिबाट प्रभावित देशलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस कोषबाट सहायता स्वीकृत भएको यो पहिलो घटना हो ।

    वाग्लेको पहलले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्न मद्दत गरेको टाइमले उल्लेख गरेको छ । जलवायु संकट सिर्जना गर्न सबैभन्दा कम योगदान गर्ने नेपाल जस्ता देशले त्यसको ठुलो मूल्य चुकाउनुपरेको भन्दै उनले विकसित तथा बढी उत्सर्जन गर्ने देशहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन् ।

    सो सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र अमेरिकी प्रविधि कम्पनी मिलका प्रमुख कार्यकारी अधिकृत म्याट रोजर्सलगायत समेटिएका छन् ।

    टाइमको ‘टाइम १०० क्लाइमेट’ सूचीमा जलवायु परिवर्तनको असर न्यूनीकरण, स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्त, वातावरण संरक्षण र प्रविधिको प्रयोगमार्फत जलवायु संकट समाधानमा योगदान पुर्‍याइरहेका विश्वभरका नेता, अभियन्ता, वैज्ञानिक, उद्यमी तथा नीति निर्मातालाई समेटिएको छ ।

    अर्थमन्त्री वाग्लेललाई रास्वपाको बधाई

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी प्रतिष्ठित पत्रिका ‘टाइम’ ले सार्वजनिक गरेको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरेको छ ।

    रास्वपाका उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेलाई पार्टीका महामन्त्री विपीनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन् ।

    विज्ञप्तिमा वाग्लेले रसुवा र भोटेकोशी बाढीपछि विश्व मञ्चमा जलवायु न्यायका लागि गरेको पैरवी, जलवायु वित्त परिचालनको पहल, स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा लिएको नेतृत्व नेपालका लागि उल्लेखनीय रहेको उल्लेख छ ।

    ‘हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि(नोक्सानीको न्यायोचित सम्बोधनका लागि उनले गरेको पैरवीले नेपालको अवस्थाबारे जानकारी दिन तथा आवाज विश्वसामु पुर्‍याउन योगदान गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    रास्वपाले वाग्लेको यो सूचीकरण व्यक्तिगत सम्मानमात्र नभई जलवायु संकटको प्रत्यक्ष मारमा परेका नेपाल जस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यान आकर्षित गराउने महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images