काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मंगलबार र बुधबारको मध्यराति कडा सुरक्षाबीच अदियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ ।
अस्पताल प्रशासनसँग सम्बन्धित एक अधिकारीका अनुसार अस्पतालमा पहिले नै तयारी अवस्थामा रहेको चिकित्सकहरूको विशेष टोलीले उनको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो ।
बीबीसी उर्दूका अनुसार चिकित्सकहरूले इमरान खानको रक्तचाप, ज्वरो र आँखाको परीक्षण गर्नुका साथै अन्य आवश्यक स्वास्थ्य जाँचसमेत गरेका थिए । उनलाई करिब डेढ घण्टा अस्पतालमा राखेर उपचार गरेपछि पुनः जेल फर्काइएको थियो ।
जेल अधिकारीहरूका अनुसार उनलाई राति १ बजेर ४० मिनेटमा उपचारका लागि अदियाला जेलबाट अस्पताल लगिएको थियो । त्यसपछि बिहान ३ बजेर २५ मिनेटमा उनलाई पुनः जेल ल्याइएको थियो ।
अधिकारीहरूले चिकित्सकहरूको टोलीले बुधबार उनको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्नसक्ने बताएका छन् । यसअघि गत नोभेम्बर ८ मा पनि जेलमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
१९ करोड पाउन्डसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इमरान खानका वकिल सलमान सफदरले अदालतमा आफ्ना पक्षको रक्तचाप नियन्त्रणमा नरहेको बताएका थिए ।
यसैबीच इस्लामावाद उच्च अदालतले जेल प्रशासनलाई बुधबार सलमान सफदर र सरदार लतिफ खोसालाई इमरान खान तथा बुशरा बीबीसँग एक घण्टासम्म भेटघाटको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।






















