images
images
  • सरकारप्रति ओली कठोर, ‘इनम सापकोटा दानबहादुरमै सकियो कि अरू कुरामा पनि काम लाग्छ ?

    काठमाडौ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जताबाट हेरे पनि इनम सापकोटाको सम्पर्क र सम्बन्ध सरकार पक्षसँगै देखिएको बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै यस्तो बताएका हुन् ।

    सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै प्रहरी, कर्मचारी र उद्यमी व्यवसायी समेत विभाजित अवस्थामा रहेको ओलीको भनाइ छ । ‘अहिले पुलिस दुई भागमा बाँडिएको छ, एउटा मार खानेमा परेको छ, अर्को हेरेर बस्नेमा परेको छ । खुशी हुनेले भोलि मार खान्छ फेरि’, अध्यक्ष ओलीले भने– ‘कर्मचारीहरूको त्यस्तै छ एक पटक कर्मचारीलाई दसैँ आएजस्तो भयो अहिले बल्ल चेत्दैछन् । एकताल उद्यमी व्यवसायीले पनि भजमनम् भजमनम् गरे अहिले सम्पत्ति शुद्धीकरण थालेपछि।।’

    पूर्वप्रधानमन्त्री ओलीले सरकारले अहिले इनम सापकोटालाई नचाइरहेको पनि बताए । ‘अहिले इनम सापकोटा भन्ने नचाइरहेका छन् । जताबाट हेर्‍यो इनम सापकोटा उनीहरूकै देखिन्छ । त्यो के नचाएको हो म बुझ्दिनँ । अनि इनम सापकोटा जताबाट हेर्‍यो उनीहरूकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ उनीहरूकै देखिन्छ’, ओलीले भने– ‘यो केका विरुद्ध ? अब यही दानबहादुरमा सकियो कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।’

    उनले वर्तमान सरकार अवैधानिक क्रियाकलाप, आगजनी, तोडफोडबाट उत्पत्ति भएको आरोप लगाउँदै सरकारले कसैको भलो नगर्ने दाबी गरे । ‘नेकपा एमाले सकियो भन्नेलाई जवाफ आन्दोलन र चुनावबाट दिनुपर्छ। एमाले सकियो होइन, देशको सबभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली, कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने फेरि हामीले देखाउनुपर्छ’, कार्यकर्ताहरूलाई निर्देशन दिँदै ओलीले पार्टीमा बसेर पार्टीकै विरुद्ध जाने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी पनि दिए ।

    ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो’, ओलीले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने गरेको भन्दै असन्तुष्टि जनाए ।

    ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस् । स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइएमा कारबाही गरिहाल्ने गर्नुपर्छ’, ओलीको निर्देशन छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images