एजेन्सी । विश्वको शीर्ष एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले आफ्नो पदबाट राजीनामा दिएका छन् । चिनियाँ गुप्तचरको रूपमा शंका गरिएकी महिला र आफ्नै कम्पनीकी कर्मचारीसँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएसँगै सिर्जित विवादका कारण उनले पद त्यागेका हुन् ।
हुआङको बहिर्गमनपछि कम्पनीको सञ्चालक समितिले वर्तमान मुख्य वित्तीय अधिकृत कोलेट क्रेसलाई नयाँ स्थायी उत्तराधिकारी नभेटिएसम्मका लागि अन्तरिम सीईओका रूपमा नियुक्त गरेको छ ।
रिपोर्टहरूका अनुसार, हुआङको सिंगापुरस्थित डाटासेन्टर कम्पनी ‘मेगास्पिड’की प्रमुख एलिस हुआङसँग सम्बन्ध रहेको खुलेको थियो, जसलाई अमेरिकी गुप्तचर निकायहरूले चिनियाँ एजेन्ट भएको आशंका गरेका छन् ।
हुआङले आफ्ना कर्मचारीहरूलाई पठाएको इमेलमा विवाहेतर सम्बन्ध रहेको स्वीकार गर्दै आन्तरिक छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन् । तर, उनले एलिस हुआङ चिनियाँ सरकारका लागि काम गर्छिन् भन्नेबारे आफू अनभिज्ञ रहेको दाबी गरेका छन् ।
यसैबीच, न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हुआङको एनभिडियाकी हेल्थकेयर विभाग प्रमुख किम्बरली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको र एक कार्यक्रमका क्रममा होटलमा निकट अवस्थामा देखिएको भिडियो सार्वजनिक भएको छ ।
एनभिडियाको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकार गर्दै उनले सन् १९९३ मा कम्पनी स्थापना गरेदेखि पुर्याएको ‘अतुलनीय’ योगदानको प्रशंसा गरेको छ । तर, सञ्चालक समितिले जारी गरेको आधिकारिक विज्ञप्तिमा गुप्तचर र व्यक्तिगत आचरण सम्बन्धी विवादबारे कुनै उल्लेख गरिएको छैन । सञ्चालक समितिले छानबिनका लागि अमेरिकी कानुन व्यवसायी फर्म ‘वाचटेल, लिप्टन, रोजेन एन्ड काट्स’लाई नियुक्त गरी अनुसन्धान अघि बढाएको छ ।
४ खर्ब (४ ट्रिलियन) डलरभन्दा बढी बजार पुँजीकरण भएको एनभिडियाका सह-संस्थापक हुआङसँग ८७ करोडभन्दा बढी सेयर (करिब ३.६%) रहेको छ र उनी १४५ अर्ब डलर सम्पत्तिका साथ विश्वका १३ औँ धनी व्यक्ति हुन् । यो प्रकरण सार्वजनिक भएसँगै एनभिडियाको सेयर मूल्यमा ११ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
उता पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेक उद्यमी एलोन मस्कले भने जेन्सेन हुआङको बचाउ गर्दै उनको समर्थन गरेका छन् ।





















