अक्टोबरको अन्त्यदेखि युक्रेनले रुसी तेल रिफाइनरीहरूमा पुनः सुरु गरेको ड्रोन आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमता करिब ३० प्रतिशतले घटेको उद्योग स्रोतहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किभ र मस्कोबीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने गरी घोषणा गरेको युद्धविराम कार्यान्वयन हुन नसकेपछि युक्रेनले प्रहार तीव्र पारेको हो ।
युक्रेनी आक्रमणका कारण विगत एक हप्तामा रुसका ३५ प्रमुख तेल प्रशोधन केन्द्रहरूमध्ये ९ वटामा सञ्चालन अवरुद्ध भएको छ र आपत्कालीन अवस्था सिर्जना भएको छ । प्रभावित रिफाइनरीहरूमा रियाजान, यारोस्लाभल र भोल्गा क्षेत्रका प्रशोधन केन्द्रहरू रहेका छन् । अक्टोबरको अन्त्यदेखि ड्रोन आक्रमणबाट प्रभावित मध्य रुसका तीन ठूला प्लाण्टसहितका रिफाइनरीहरूको कुल दैनिक क्षमता करिब ३ लाख मेट्रिक टन (२२ लाख ब्यारेल) रहेको छ, जुन रुसको कुल दैनिक प्राथमिक प्रशोधन क्षमता ९ लाख ३० हजार टनको तुलनामा ठूलो हिस्सा हो ।
अक्टोबरको अन्त्यमा रुसी रिफाइनरीहरूले दैनिक करिब ७ लाख टन (५० लाख ब्यारेल) कच्चा तेल प्रशोधन गरिरहेका थिए । उद्योग स्रोतहरूका अनुसार कच्चा तेल प्रशोधनमा भएको वास्तविक गिरावट दैनिक २ लाख टनसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, सोमबार राति युक्रेनी ड्रोनले रुसको दोस्रो ठूलो किरीशी तेल रिफाइनरीमा आक्रमण गर्दा भीषण आगलागी भएको र एक महिलाको मृत्यु भएको लेनिङग्राड क्षेत्रका गभर्नरले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निर्यात सम्झौताअनुसार अन्तर्राष्ट्रिय बजारमा डिजेल पठाउँदै आएको रुसका लागि युक्रेनी आक्रमणले घरेलु इन्धन अभाव सम्बोधन गर्ने कार्यमा थप जटिलता थपिदिएको छ ।
रुसी दैनिक पत्रिका ‘कोमर्सान्त’ मा मंगलबार प्रकाशित लेखमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले ऊर्जा लक्ष्यहरूमा आक्रमण रोक्न ट्रम्पले गरेको आग्रहलाई बेवास्ता गरिरहेको आरोप लगाएका छन् ।
अर्कोतर्फ युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनका ऊर्जा लक्ष्यहरूमा गरेको निरन्तर प्रहारको जवाफमा किभले रुसी तेल क्षेत्रमा आक्रमण जारी राखेको बताएका छन् । युक्रेनका विद्युत गृह, ऊर्जा सञ्जाल, हिटिङ प्रणाली र खानेपानी आपूर्ति प्रणालीमा निरन्तर आक्रमण भइरहेको र मस्कोले साझेदारहरूले प्रस्ताव गरेका तनाव कम गर्ने कदमहरू अस्वीकार गरेको जेलेन्स्कीको भनाइ छ ।





















