एजेन्सी । इरानसँग सम्बन्धित सुरक्षा खतराको आशङ्काबीच अमेरिकाले बेलायतमा रहेको आफ्नो दोस्रो सैन्य एयरबेसबाट पनि सैन्य विमानहरू अन्यत्र सारेको छ ।
सोमबार बेलायतको सफोक स्थित ‘आरएएफ मिल्डेनहल’ बेसबाट कम्तीमा १० वटा अमेरिकी वायुसेनाका इन्धन भर्ने केसी-१३५ विमानहरूले उडान भरेका हुन् । उडान ट्र्याकिङ डेटाका अनुसार ती विमानहरू युरोपका अन्य अमेरिकी सैन्य बेसहरूसँगै स्कटल्याण्डको प्रेस्टविक विमानस्थलमा अवतरण गरेका छन् ।
‘द वाल स्ट्रिट जर्नल’ले इरानबाट हुनसक्ने सम्भावित खतराका कारण विमानहरू सारिएको जनाएको छ, यद्यपि बीबीसीले यस दाबीको स्वतन्त्र पुष्टि गरेको छैन । यसअघि सेप्टेम्बरमा इरानसँगै जोडिएको सुरक्षा घटनाको आशङ्कापछि अमेरिकाले बेलायतको ‘आरएएफ फेयरफोर्ड’ बेसबाट आफ्ना बम्बर विमानहरू फिर्ता लगेको थियो ।
लण्डनबाट करिब १३० किलोमिटर (८० माइल) उत्तरमा रहेको मिल्डेनहल बेसमा करिब ३ हजार अमेरिकी सैन्य कर्मीहरू कार्यरत छन् । यो बेस मुख्यतया विमानमा इन्धन भर्न, मर्मत सम्भार गर्न र मध्यपूर्व जाने विमानहरूका लागि प्रयोग हुँदै आएको छ ।
अमेरिकी निर्णयपछि बेलायती प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) ले बेलायतमा रहेका सैन्य एयरबेसहरू पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । प्रधानमन्त्रीका प्रवक्ताले देश भित्र र विश्वभर रहेका सैन्य स्थलहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको र सहयोगी राष्ट्रहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन् ।
यस्तै, बेलायतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार लर्ड रिकेट्सले ठूला इन्धन ट्याङ्कर विमानहरू राखिने बेसको परिधि लामो हुने भएकाले ती स्वाभाविक रूपमा संवेदनशील हुने बताउँदै सावधानी अपनाउन विमानहरू सारिएको हुनसक्ने उल्लेख गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सम्भावित खतराहरूलाई ध्यानमा राख्दै आफ्ना कर्मचारी र सैन्य सम्पत्तिको सुरक्षाका लागि कदम चालिएको सङ्केत दिएका छन् । अर्कातिर अमेरिकी वायुसेनाका प्रवक्ताले आफ्ना विमानहरू नियमित तालिम तथा सञ्चालनगत आवश्यकता अनुसार विभिन्न बेसहरूमा सरुवा भइरहने बताएका छन् ।
बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले अन्य राष्ट्रका सैन्य परिचालनबारे नियमित टिप्पणी नगर्ने स्पष्ट पारेका छन् ।
फेयरफोर्ड बेस नजिकै गत सेप्टेम्बरमा तीनवटा शंकास्पद गाडीहरू देखिएपछि सुरक्षा चासो बढेको थियो, जसको अनुसन्धानका क्रममा प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ ।






















