काठमाडौं – काभ्रेपलाञ्चोकको दोलालघाटदेखि दोलखाको चर्नावती जोड्ने प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइएको छ । पहाडी सडकका घुम्ती र लामो दूरीलाई छोट्याउँदै सुरक्षित तथा सहज यातायात सञ्चालन गर्ने उद्देश्यसहित सरकारले ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ लाई प्राथमिकतामा राखेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण प्रक्रियाका लागि १८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट विनियोजनसँगै लामो समयदेखि चर्चामा रहेको यो आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ्ने भएको हो ।
प्रस्तावित सुरुङमार्गले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालघाटलाई दोलखाको शैलुङ गाउँपालिका–७ स्थित चर्नावतीसँग जोड्नेछ । यसले काभ्रे र दोलखाबीचको सडक दूरी घटाउनुका साथै चीनसँग जोडिने व्यापारिक मार्गलाई समेत सहज बनाउन सक्ने अपेक्षा गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षमा एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण कार्य अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ६७ करोड एक लाख रुपैयाँ विनियोजन गरेको छ । सोही बजेटअन्तर्गत दोलालघाट–चर्नावती सुरुङमार्गका लागि पनि रकम छुट्याइएको हो ।
सुरुङको लम्बाइ र लगानीको ढाँचा अध्ययनपछि तय हुने
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक इन्जिनियर राजेश पौडेलका अनुसार देशभर हाल आठवटा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छन् भने २३ वटा सुरुङमार्ग अध्ययनको चरणमा छन् ।
उनका अनुसार दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई पनि अघि बढाइएको छ। अध्ययनबाट सुरुङको वास्तविक लम्बाइ, भौगर्भिक अवस्था, निर्माण लागत र लगानीको ढाँचा निर्धारण गरिनेछ ।
आयोजनामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा वैदेशिक ऋणमध्ये कुन लगानी मोडेल उपयुक्त हुन्छ भन्ने विषय पनि अध्ययनपछि टुंगो लाग्नेछ ।
चीन–नेपाल व्यापारिक मार्गलाई नयाँ विकल्प
प्रस्तावित सुरुङमार्गलाई काठमाडौँ र चीनबीचको व्यापारिक आवागमन सहज बनाउने सम्भावित छोटो मार्गका रूपमा हेरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्वाधार क्षेत्र हेर्ने अर्जुनजङ्ग थापाका अनुसार आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा चीन, नेपाल र भारतबीचको व्यापारिक यातायातमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।
उनका अनुसार सुरुङमार्ग र यससँग जोडिने सडक सञ्जालले सामान ढुवानीमा लाग्ने समय तथा इन्धन खर्च घटाउन सहयोग गर्नेछ । भारतबाट बीपी राजमार्ग हुँदै आउने सामग्री र चीनबाट भित्रिने सामानलाई जोड्ने वैकल्पिक मार्गका रूपमा समेत यसले भूमिका खेल्न सक्ने उनको भनाइ छ ।
विशेषगरी आयात–निर्यातको लागत घटाउने, व्यापारिक आवागमन सहज बनाउने र पहाडी क्षेत्रको सडक पहुँच विस्तार गर्ने दृष्टिले यो आयोजना रणनीतिक महत्त्वको हुन सक्ने देखिन्छ ।
जलविद्युत् आयोजनालाई उपकरण ढुवानीमा सहजता
सुरुङमार्ग निर्माणले दोलखा तथा आसपासका जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय चूडाकुमार कार्कीका अनुसार जलविद्युत् आयोजनामा प्रयोग हुने ठूला तथा भारी उपकरण ढुवानी गर्न र काठमाडौँसम्म विद्युत् प्रसारणका पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्न यो मार्ग उपयोगी हुन सक्छ ।
त्यस्तै, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापका नागरिकलाई यातायात, शिक्षा, स्वास्थ्य तथा बजारसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय कृषि उत्पादनको बजार विस्तार, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय उद्यम विकासमा समेत आयोजनाले योगदान पुर्याउन सक्ने कार्कीको भनाइ छ ।
नागढुङ्गापछि अर्को सुरुङमार्गको सम्भावना
नेपालले नागढुङ्गा सुरुङमार्ग निर्माण तथा सञ्चालनको अनुभव हासिल गरिसकेको अवस्थामा अन्य पहाडी क्षेत्रमा पनि सुरुङमार्ग निर्माणको सम्भावना खोज्न थालिएको छ ।
दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सफल भएमा नेपालको पहाडी यातायात पूर्वाधार विकासमा नयाँ विकल्प खुल्न सक्छ। तर यसको वास्तविक लम्बाइ, निर्माण लागत, भौगर्भिक चुनौती, लगानीको स्रोत र निर्माण समयसीमा भने विस्तृत अध्ययनपछि मात्रै स्पष्ट हुनेछ ।
स्रोतः गोर्खापत्र






















