images
images
  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

    काठमाडौं – २२ कात्तिक। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको अन्ताल्या पुग्नुभएको छ ।

    नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ अर्थात् कात्तिक २३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ।

    सम्मेलनका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा स् ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ शीर्षकको उक्त कार्यक्रममा हिमाली क्षेत्रका हिमनदी, क्रायोस्फियर, जलवायु उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

    त्यसैगरी परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागी हुनुका साथै विभिन्न देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्री खनालको भ्रमणले जलवायु परिवर्तनका असरबाट प्रभावित हिमाली तथा पर्वतीय मुलुकका साझा मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन र जलवायु वित्त तथा अनुकूलनका विषयमा नेपालको धारणा प्रस्तुत गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images