images
images
  • अन्नपूर्ण आधार शिविरमा पर्यटकको ओइरो, दैनिक २०० जनासम्म पदयात्रामा

    काठमाडौं – अनुकूल मौसम र दसैँ–तिहारको बिदासँगै म्याग्दीको अन्नपूर्ण आधार शिविर तथा मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सुन्दरता, साहसिक पदयात्रा र छोटो अवधिमै पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

    अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा दसैँपछि पर्यटकको आगमन उल्लेख्य बढेको हो ।

    मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार पछिल्लो समय दैनिक करिब २०० जना नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा पुगिरहेका छन् । गत असोजमा आएको मनसुनजन्य विपद्बाट पदमार्गमा ठूलो क्षति नपुगेको र यात्रा सुरक्षित रहेकाले बिदा मनाउन आउने पर्यटकको रोजाइमा यो क्षेत्र परेको उहाँले बताए ।

    उनका अनुसार पर्यटकको चाप बढेसँगै पदमार्गमा रहेका रेस्टुरेन्ट तथा क्याम्पहरू भरिभराउ हुन थालेका छन् । विशेषगरी युवायुवती, रोजगारीमा आबद्ध व्यक्ति तथा परिवारसहित घुम्न जाने पर्यटकको आकर्षण बढेको छ ।

    समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । पर्यटकको आगमन बढेसँगै बेनी, भुरुङ–तातोपानी र नारच्याङ क्षेत्रका पर्यटन व्यवसायीसमेत उत्साहित बनेका छन् ।

    आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किनुभएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र रमणीय रहेको प्रतिक्रिया दिए ।

    पर्यटकको सुविधाका लागि हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल, खाना र आवासको व्यवस्था गरिएको छ । सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थलसमेत निर्माण गरिएको छ ।

    त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी, शौचालयलगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन्। संघीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार पनि गरिएको छ ।

    आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ । त्यहाँ खुला संग्रहालयसमेत स्थापना गरिएको छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए ।

    नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने पदमार्गको नाम पहिलो आरोही मौरिस हर्जोगको सम्मानमा राखिएको हो ।

    नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनमा यात्रा गरेपछि त्यहाँबाट करिब २१ किलोमिटर पैदलयात्रा गर्नुपर्छ। करिब दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

    पदमार्गमा पर्ने फुतफुते झरना, आधार शिविर क्षेत्रको पञ्चकुण्ड ताल र वरिपरिका हिमशृङ्खलाको मनमोहक दृश्यले यस क्षेत्रको आकर्षण थप बढाएको छ। उचित पूर्वाधार र प्रचारप्रसार विस्तार गर्न सके अन्नपूर्ण आधार शिविर म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images