images
images
  • पुरानो भविष्यवाणी फेरि चर्चामा, के नोभेम्बर १३ मा हुन्छ संसारको अन्त्य ?

    काठमाडौं-  सन् २०२६ नोभेम्बर १३, शुक्रबार।

    यो मिति नजिकिँदै जाँदा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा ‘संसारको अन्त्य’ हुने डर र त्यससम्बन्धी चर्चा फेरि व्यापक रूपमा फैलिएको छ ।

    यस मितिको सम्बन्ध ६६ वर्षअघि प्रकाशित एउटा वैज्ञानिक अध्ययनसँग जोडिएको छ । उक्त अध्ययनमा पृथ्वीको जनसङ्ख्याको भविष्यबारे आकलन गरिएको थियो ।

    तीन जना अनुसन्धानकर्ताले सन् १९६० नोभेम्बर ४ मा अमेरिकाको साइन्स नामक वैज्ञानिक पत्रिकामा उक्त अध्ययन प्रकाशित गरेका थिए । अध्ययनको शीर्षक थियो, ‘कयामतको दिन: शुक्रबार, १३ नोभेम्बर’ (Doomsday: Friday, 13 November)।

    अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनमा यदि विश्वको जनसङ्ख्या उनीहरूले करिब दुई हजार वर्षका तथ्याङ्कको अध्ययनबाट देखेको वृद्धिदरअनुसार नै बढिरह्यो भने उनीहरूले तयार पारेको गणितीय नमुनाअनुसार सन् २०२६ को नोभेम्बरमा मानव जनसङ्ख्या सैद्धान्तिक रूपमा ‘अनन्त’ पुग्ने बताएका थिए ।

    तर के अनुसन्धानकर्ताहरूले वास्तवमै मानव जातिको विनाश हुने कुरा गरेका थिए ?

    के यो मितिको कुनै वैज्ञानिक महत्त्व छ ? के यसले पृथ्वीमा कुनै विश्वव्यापी विपत्ति वा जीवन नै समाप्त पार्ने घटनाको सङ्केत गर्छ ?

    यो कथा कहाँबाट सुरु भएको हो ?

    06ffa910 d92d 11f1 a701 fddedf244c16.png

    यस अध्ययनको सुरुवात अस्ट्रियाली-अमेरिकी भौतिकशास्त्री हाइन्ज फन फोर्स्टरबाट भएको थियो ।

    उनले दुई जना अनुसन्धानकर्ता प्याट्रिसिया मोरा र लरेन्स एमियटसँग मिलेर यो अध्ययन गरेका थिए । यी तीनै जना अमेरिकाको इलिनोइस विश्वविद्यालयको विद्युतीय इन्जिनियरिङ विभागमा कार्यरत थिए ।

    अनुसन्धानकर्ताहरूले विश्वको जनसङ्ख्यासम्बन्धी ऐतिहासिक अनुमानित तथ्याङ्क प्रयोग गरेका थिए । त्यसमा इस्वी संवत्को सुरुवातदेखि सन् १९५८ सम्मका २४ वटा अनुमान समावेश थिए । ती तथ्याङ्कका आधारमा उनीहरूले इतिहासमा मानव जनसङ्ख्या कसरी वृद्धि हुँदै आएको थियो भन्ने कुरा बुझ्ने प्रयास गरेका थिए ।

    अनुसन्धानकर्ताहरूले जनसङ्ख्या एउटा निश्चित दरमा मात्र बढ्छ भन्ने मान्यता राखेका थिएनन् । त्यसको सट्टा उनीहरूले तीव्र गतिमा जनसङ्ख्या वृद्धि हुने अर्थात् ‘हाइपरबोलिक ग्रोथ’ को अवधारणामा आधारित गणितीय नमुना प्रस्तुत गरेका थिए ।

    यस अवधारणाअनुसार जनसङ्ख्या मात्र बढ्दैन, समय बित्दै जाँदा जनसङ्ख्या बढ्ने गति पनि झन् तीव्र हुँदै जान्छ ।

    यस नमुनामा मानिसहरूबीचको अन्तरक्रिया, एकअर्कालाई सहयोग गर्ने क्षमता र गठबन्धन निर्माण गर्ने प्रवृत्तिले उनीहरूलाई वातावरणसँग सम्बन्धित केही सीमितताहरू पार गर्न मद्दत पुर्‍याउँछ भन्ने मान्यता राखिएको थियो ।

    यसबाट मानिसहरूको बाँच्ने र प्रजनन गर्ने क्षमता बढ्छ ।

    ऐतिहासिक तथ्याङ्कमा गणितीय समीकरण लागू गरेपछि अनुसन्धानकर्ताहरूले आफ्नो नमुना सन् २०२६ मा एउटा यस्तो अवस्थामा पुग्ने निष्कर्ष निकाले, जसलाई ‘सिङ्गुलारिटी’ भनिन्छ । यो समय सन् २०२६ को नोभेम्बरको मध्यतिर पर्ने देखिएको थियो ।

    यसैका आधारमा अध्ययनको शीर्षकमा १३ नोभेम्बर २०२६ को मिति राखिएको थियो । अनुसन्धानकर्ताहरूले प्रयोग गरेका मान्यताहरूमा कुनै परिवर्तन नआएमा उक्त मितिमा जनसङ्ख्या ‘अनन्त’ हुने गणितीय अनुमान गरिएको थियो ।

    पहिलो नजरमा अध्ययनको शीर्षकले संसारको अन्त्य हुने भविष्यवाणी गरेजस्तो लाग्न सक्छ । तर यसको वास्तविक अर्थ भने बिल्कुलै फरक थियो ।

    अनुसन्धानकर्ताहरूले पृथ्वीमा कुनै क्षुद्रग्रह ठोक्किने, सूर्य विस्फोट हुने अथवा विनाशकारी भूकम्प वा ज्वालामुखी विस्फोट हुने कुरा गरेका थिएनन् । उनीहरूले कुनै प्राकृतिक विपत्तिका कारण मानव जातिको विनाश हुने मिति पनि तोकेका थिएनन् ।

    वास्तवमा उनीहरूले ‘कयामतको दिन’ भन्ने अवधारणालाई एउटा काल्पनिक गणितीय बिन्दुको वर्णन गर्न प्रयोग गरेका थिए । त्यो यस्तो बिन्दु थियो, जहाँ उनीहरूले बनाएको गणितीय समीकरणअनुसार जनसङ्ख्या अनन्त पुग्छ । तर वास्तविक भौतिक संसारमा यस्तो हुनु असम्भव छ ।

    अर्को शब्दमा भन्नुपर्दा, यहाँ ‘अनन्त’ भन्नाले वास्तवमै पृथ्वीमा त्यति धेरै मानिस हुनेछन् भन्ने अर्थ लाग्दैन । बरु कुनै गणितीय नमुनालाई भविष्यसम्म निरन्तर लागू गर्दै त्यसका सर्तहरूमा कुनै परिवर्तन नहुने कल्पना गर्दा प्राप्त हुने नतिजालाई यसले जनाउँछ ।

    मूल अध्ययन पढ्दा अनुसन्धानकर्ताहरू यस कुराप्रति जानकार रहेको देखिन्छ कि वातावरण, स्रोतसाधन र जनसङ्ख्याको वरिपरिका परिस्थितिहरूको प्रभावलाई ध्यानमा नराखी यस्तो नमुना लागू गर्न सकिँदैन ।

    यी यस्ता पक्ष हुन्, जसले जन्मदर र मृत्युदरलाई प्रभावित पार्न सक्छन् र जनसङ्ख्या वृद्धिको दिशा नै परिवर्तन गर्न सक्छन् ।

    सन् १९६४ मा प्रकाशित मिशेल टेकलाको लेखसँग यसको के सम्बन्ध छ ?

    अंतरिक्ष में स्पेस वॉक करता अंतरिक्ष यात्री

    इजिप्टको ‘वातनी’ नामक अखबारले सन् १९६४ नोभेम्बर २९ मा प्रकाशित एउटा पुरानो समाचारको कटिङ पनि सार्वजनिक गरेको छ । उक्त लेखमा लेखकका रूपमा मिशेल टेकलाको नाम उल्लेख छ । लेखको शीर्षकमा २०२६ नोभेम्बर १३ मा संसारको अन्त्य हुने कुरा गरिएको छ ।

    त्यसपछि इजिप्टका केही अन्य सञ्चारमाध्यमले पनि उक्त पुरानो समाचारको तस्बिर पुनः प्रकाशित गरेका छन् । यसले गर्दा छ दशकभन्दा बढी समयपछि यो विषय फेरि चर्चामा आएको छ ।

    तर प्रकाशित लेख र मूल वैज्ञानिक अध्ययनबीचको भिन्नता बुझ्नु आवश्यक छ ।

    १३ नोभेम्बर २०२६ को मिति उल्लेख गरिएको अध्ययन सन् १९६० मा फन फोर्स्टर र उनका दुई सहयोगीले प्रकाशित गरेका थिए, मिशेल टेकलाले होइन ।

    पछिल्लो समय सञ्चारमाध्यममा टेकलाको लेखको विषयवस्तुबारे पनि विभिन्न दाबीहरू सार्वजनिक भएका छन् ।

    केही समाचारले उक्त लेखलाई जनसङ्ख्या वृद्धिसम्बन्धी अध्ययनसँग जोडेका छन् भने अन्यले सूर्यको गतिविधि, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिसँग सम्बन्धित परिकल्पनाहरूको चर्चा गरेका छन् ।

    त्यसैले मूल लेखको पूर्ण पाठ अध्ययन गरेर त्यसको वैज्ञानिक विषयवस्तुसँग तुलना नगरेसम्म यी सबै परिकल्पनालाई एउटै वैज्ञानिक सिद्धान्तको हिस्सा मान्नु वा तिनलाई फन फोर्स्टरको अध्ययनको निष्कर्षका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन ।

    ‘सौर्य गतिविधि’

    सूर्य का एक क्लोज़-अप

    मिशेल टेकलाको लेखसँग सम्बन्धित केही सञ्चारमाध्यमका समाचारमा १३ नोभेम्बर २०२६ मा असाधारण सौर्य गतिविधि हुने दाबी पनि गरिएको छ । ती समाचारमा यसका कारण पृथ्वीको चुम्बकीय क्षेत्रमा गडबडी उत्पन्न हुन सक्ने र प्राकृतिक विपत्ति आउन सक्ने आशङ्का व्यक्त गरिएको छ ।

    तर वास्तविक सौर्य आँधी र कुनै निश्चित दिन सौर्य विपत्ति आउने दाबीबीचको भिन्नता बुझ्न आवश्यक छ ।

    सौर्य गतिविधि एउटा परिचित प्राकृतिक घटना हो । सूर्यमा निश्चित चक्रहरू हुन्छन्, जसका क्रममा यसको गतिविधिको स्तर घटबढ भइरहन्छ ।

    यस क्रममा कहिलेकाहीँ कोरोनल मास इजेक्सन र सौर्य ज्वाला पनि उत्पन्न हुन्छन् । यस्ता घटनाले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्रभावित पार्न सक्छन्।

    शक्तिशाली सौर्य आँधीका कारण सञ्चार प्रणाली, भूउपग्रह र नेभिगेसन प्रणालीमा अवरोध आउन सक्छ । यसले विद्युत् प्रसारण प्रणालीमा समेत असर पार्न सक्छ ।

    तर यस्ता जोखिम हुँदैमा सूर्यले कुनै निश्चित मितिमा पृथ्वीलाई नष्ट गरिदिन्छ भन्ने अर्थ लाग्दैन ।

    सन् १९६० मा साइन्स पत्रिकामा प्रकाशित जनसङ्ख्यासम्बन्धी अध्ययनमा सन् २०२६ नोभेम्बर १३ को मितिलाई सौर्य गतिविधि, भूगर्भीय विपत्ति वा जलवायुसम्बन्धी प्रकोपसँग जोड्ने कुनै प्रमाण प्रस्तुत गरिएको छैन ।

    ‘नोभेम्बर १३ मा कुनै असाधारण घटनाको सङ्केत छैन’

    जॉर्डन के खगोलशास्त्री इमाद मुजाहिद

    सन् २०२६ नोभेम्बर १३ मा पृथ्वीका लागि कुनै खगोलीय खतरा छ कि छैन भन्ने दाबीको जाँच गर्ने क्रममा खगोलविद् इमाद मुजाहिदले यस वर्ष सौर्य गतिविधि आफ्नो चरम अवस्थामा पुगिरहेको बताएका छन् । तर वैज्ञानिकहरू यस घटनाबारे दशकौँदेखि जानकार छन् । यो त अचानक हुने घटना हो, न त अप्रत्याशित परिवर्तन नै हो ।

    मुजाहिदले बीबीसी न्युज अरबीलाई बताएअनुसार सौर्य गतिविधि प्राकृतिक चक्रबाट गुज्रन्छ र सौर्य आँधीहरू ब्रह्माण्डको उत्पत्तिकालदेखि नै हुँदै आएका छन् । यद्यपि वैज्ञानिक तथा प्राविधिक विकासका कारण अहिले वैज्ञानिकहरूले पहिलेको तुलनामा यस्ता घटनालाई अझ राम्रोसँग निगरानी गर्न, अध्ययन गर्न र तिनको पूर्वानुमान गर्न सक्छन् ।

    उनले आगामी नोभेम्बर १३ मा पृथ्वीको सुरक्षालाई लिएर चिन्ता वा डर पैदा गर्नुपर्ने कुनै ज्ञात अथवा पूर्वानुमान गरिएको खगोलीय घटना नरहेको बताए ।

    मुजाहिदले खगोल विज्ञान वा ब्रह्माण्ड विज्ञानमा संसारको अन्त्य नजिकिएको सङ्केत गर्ने कुनै प्रमाण नरहेको कुरामा जोड दिए ।

    उनका अनुसार यस मितिलाई लिएर गरिएका दाबी खगोल विज्ञानका विशेषज्ञहरूको भनाइ वा चेतावनीमा आधारित छैनन् । बरु विभिन्न माध्यमबाट संस्था र व्यक्तिहरूले कुनै वैज्ञानिक आधारबिना यस्ता दाबीहरू फैलाइरहेका छन् ।

    यी स्पष्टीकरणहरू परिचित प्राकृतिक घटनाहरू, जस्तै सौर्य गतिविधिका चक्र र सौर्य आँधीहरू तथा तिनलाई संसारको अन्त्य हुने अप्रमाणित भविष्यवाणीसँग जोडेर गरिएका व्याख्याहरूबीचको भिन्नता स्पष्ट पार्ने सन्दर्भमा आएका हुन् ।

    सन् १९६० को गणना किन सही साबित भएन ?

    सौर्य मंडल

    पुरानो गणितीय समीकरणलाई सन् २०२६ को वास्तविक परिस्थितिमा लागू गर्दा देखिने सबैभन्दा ठूलो समस्या भनेको जनसङ्ख्या वृद्धिको पुरानो प्रवृत्ति कुनै ठूलो परिवर्तनविना निरन्तर जारी रहन्छ भन्ने मान्यता हो ।

    तर पछिल्ला धेरै दशकमा विश्वमा जनसाङ्ख्यिक, सामाजिक र आर्थिक क्षेत्रमा ठूला परिवर्तन भएका छन् । यी परिवर्तनले प्रजननदर, मृत्युदर र जनसङ्ख्या वृद्धिमा प्रत्यक्ष प्रभाव पारेका छन् ।

    तथ्याङ्कअनुसार सन् १९६० को दशकमा विश्वको जनसङ्ख्या वृद्धिदर आफ्नो उच्चतम बिन्दुमा पुगेको थियो। त्यसपछि यसमा क्रमशः गिरावट आउन थाल्यो । यसको अर्थ सन् १९६० मा अनुसन्धानकर्ताहरूले प्रयोग गरेको गणितीय नमुनाअनुसार वास्तविक जनसङ्ख्या वृद्धिको प्रवृत्ति निरन्तर अगाडि बढेन ।

    उक्त अध्ययन प्रकाशित हुँदा विश्वको जनसङ्ख्या करिब तीन अर्ब थियो । अहिले यो आठ अर्बभन्दा बढी पुगेको छ । तर यो सङ्ख्या कुनै पनि हिसाबले उक्त समीकरणमा कल्पना गरिएको ‘अनन्त’ जनसङ्ख्याको नजिक पनि पुगेको छैन ।

    अर्कोतर्फ, संयुक्त राष्ट्रसङ्घका पछिल्ला अनुमानहरूले उक्त पुरानो अध्ययनमा प्रस्तुत गरिएको अवस्थाभन्दा बिल्कुलै फरक चित्र देखाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको ‘वर्ल्ड पपुलेसन प्रोस्पेक्ट्स २०२४’ प्रतिवेदनअनुसार विश्वको जनसङ्ख्या सन् २०२४ मा करिब ८.२ अर्ब थियो । यो सङ्ख्या बढेर यस शताब्दीको २०८० को दशकको मध्यतिर करिब १०.३ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यसपछि जनसङ्ख्या क्रमशः घट्न थाल्नेछ र सन् २१०० सम्ममा करिब १०.२ अर्बमा झर्ने अनुमान गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घको अनुमानले यस शताब्दीभित्रै विश्वको जनसङ्ख्या आफ्नो उच्चतम बिन्दुमा पुग्ने सम्भावना बढी रहेको देखाउँछ । यसको मुख्य कारण धेरै जनसङ्ख्या भएका विभिन्न देशहरूमा प्रजननदर अनुमान गरिएभन्दा पनि तीव्र गतिमा घट्नु हो ।

    अहिले धेरै देशका लागि चिन्ताको विषय जनसङ्ख्या वृद्धि मात्र रहेको छैन । प्रजननदरमा आएको गिरावट, औसत आयुमा वृद्धि र वृद्धवृद्धाहरूको सङ्ख्या बढ्दै जानु पनि उत्तिकै महत्त्वपूर्ण चुनौतीका रूपमा देखा परेका छन् ।

    -मजदी अल-कस्सौस/बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images