images
images
  • विवादास्पद साइबर ट्रकको उत्पादन घटाउँदै एलन मस्क

    काठमाडौं- टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बिक्रीमा आएको गिरावटका कारण कम्पनीले टेक्सासस्थित कारखानामा साइबर ट्रकको उत्पादन घटाउँदै लैजाने बताएका छन् ।

    खर्बपति मस्कले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै साइबर ट्रकको उत्पादन घटाउने निर्णयबारे जानकारी दिएका हुन् ।

    उनका अनुसार यसबाट कम्पनीलाई नयाँ मोडल साइबर क्याबको उत्पादन बढाउन ठाउँ उपलब्ध हुनेछ । साइबर क्याबलाई कम्पनीले रोबोट ट्याक्सी उद्योगमा प्रवेश गर्ने योजनाअन्तर्गत सार्वजनिक गरेको छ ।

    मस्कले एक्समा लेखेका छन्, ‘अर्को वर्षको मध्यतिरदेखि टेस्लाले टेक्सासस्थित गिगाफ्याक्ट्रीमा साइबर ट्रकको उत्पादन घटाउँदै लैजानेछ । ताकि साइबर क्याबको उत्पादन बढाउन सकियोस् ।’

    सन् २०१९ मा पहिलोपटक घोषणा गरिएको साइबर ट्रकको डिजाइन निकै फरक र कोणैकोण भएको छ । यसको बाहिरी भाग स्टेनलेस स्टिलबाट बनेको छ । सार्वजनिक भएलगत्तै यसको डिजाइनलाई लिएर मानिसहरूबीच तीव्र मतभेद देखिएको थियो । कतिपयले यसको डिजाइनको प्रशंसा गरे भने कतिपयले आलोचना गरेका थिए ।

    सन् २०१९ मा आयोजित सार्वजनिक प्रदर्शन कार्यक्रममा मस्कले साइबर ट्रकका सिसा फुट्न नसक्ने दाबी प्रमाणित गर्न खोजेका थिए । तर प्रदर्शन उल्टै असफल भयो । गाडीका सिसा नफुट्ने देखाउन प्रहार गरिएका धातुका बलले दुईवटा सिसा चर्काइदिएपछि मस्कको दाबीमाथि प्रश्न उठेको थियो ।

    अमेरिकी राजनीतिमा मस्कको संलग्नता बढ्दै गएपछि साइबर ट्रक उनीप्रतिको विरोधको प्रतीकसमेत बन्न पुग्यो । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत संघीय सरकारी निकायहरूमा व्यापक कटौती गर्ने उद्देश्यले गठन गरिएको सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व मस्कले केही समय गरेका थिए । यस क्रममा उनी अमेरिकी राजनीतिमा निकै सक्रिय बनेका थिए ।

    हालै नोभेम्बर ४ मा मस्कले अमेरिकी मध्यावधि निर्वाचन अभियानमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्न झन्डै आधा अर्ब अमेरिकी डलर खर्च गरेका थिए । उनले टेक्सासका रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको असफल सिनेट चुनावी अभियानका लागि मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए ।

    टेस्लाबाहेक मस्कको अर्को कम्पनी स्पेसएक्स पनि टेक्सासमै अवस्थित छ ।

    तर मस्कले गरेको ठूलो आर्थिक खर्चले अमेरिकी राजनीतिमा डेमोक्रेटिक पार्टीको पक्षमा आएको लहरलाई रोक्न सकेन । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा बलियो नियन्त्रण कायम गरे । यस राजनीतिक परिवर्तनले संघीय सरकारसँग मस्कले गरेका काम-कारबाहीमाथि अनुसन्धान हुन सक्ने सम्भावना पनि बढाएको छ ।

    मस्कले सुरुमा साइबर ट्रकको वार्षिक बिक्री करिब दुई लाख ५० हजार युनिट पुग्ने अनुमान गरेका थिए । सन् २०२३ को अन्त्यतिर उपभोक्ताका लागि उपलब्ध गराइएको यो गाडीले भने उनको अनुमानअनुसार बजार पाउन सकेन ।

    सन् २०२४ मा साइबर ट्रकका ३८ हजार ९६५ वटा बिक्री भएका थिए । सन् २०२५ मा यसको बिक्री झन्डै आधाले घटेर २० हजार २३७ वटामा सीमित भयो । शुक्रबार उत्पादन घटाउने घोषणा गर्दा मस्कले साइबर ट्रकको उत्पादन अर्को कुनै कारखानामा सारिने हो वा होइन भन्नेबारे भने केही बताएका छैनन् ।

    हालसम्म टेक्सासस्थित कारखाना नै साइबर ट्रक उत्पादन हुने एकमात्र ज्ञात स्थल हो । एक्समा एक प्रयोगकर्ताले गरेको प्रतिक्रियाको जवाफ दिँदै मस्कले साइबर ट्रकलाई ‘टेस्लाले अहिलेसम्म बनाएको सबैभन्दा उत्कृष्ट गाडी’ भनेका छन् ।

    साथै उनले यसको उत्पादन घटाउने निर्णयलाई ‘एउटा युगको अन्त्य’ को संज्ञा दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images