images
images
  • पोखरामा सयपत्री फूलको मूल्य तोकियो, प्रतिकिलो ५०० रुपैयाँ

    काठमाडौं – तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरले फूल बिक्रीका लागि १७ स्थान तोकेको छ भने प्रतिकिलो ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ मूल्य कायम गरेको छ ।

    महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार तोकिएका बिक्रीस्थलमा आगामी आइतबारदेखि फूलको बिक्रीवितरण सुरु हुनेछ । पोखराका विभिन्न वडा कार्यालय, किसान बजार, कृषि सहकारी तथा सार्वजनिक स्थललाई बिक्री केन्द्रका रूपमा तोकिएको छ ।

    महानगरले वडा नं. १ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र र टुँडीखेलको पुरानो वडा कार्यालयदेखि वडा नं. २७ को तालचोकस्थित कृषिउपज थोक बजारसम्मका स्थानलाई बिक्रीस्थल बनाएको छ । त्यस्तै, महेन्द्रपुल, पृथ्वीचोक, सिद्धार्थचोक, पोखरा रङ्गशाला, विरौटा र खुदीलगायतका क्षेत्रमा पनि फूल बिक्री हुनेछ ।

    सरोकारवाला पक्षसँगको समन्वय र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको महाशाखा प्रमुख कडरियाले बताए। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न महानगरले तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण नगर्न व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

    फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्री गर्दै आएका छन् । पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरको सहयोगमा एसोसिएसनले ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूल अवलोकनसँगै खरिद गर्न पनि सर्वसाधारणको भीड लागेको एसोसिएसनले जनाएको छ ।

    एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार स्थानीय किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा खरिद गर्ने वातावरण बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा स्टल राखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images