काठमाडौं– यस पटक अमेरिकामा भएको मध्यावधि निर्वाचनको दौरान रुस र युक्रेनबीचको युद्ध र अमेरिकी भूमिकाको सवाल धेरै उठेन । तथापि एउटा सत्य के हो भने यो निर्वाचनको परिणामले कतै न कतै सो युद्धलाई असर भने गर्ने नै छ । यस निर्वाचनभन्दा केही समय अघिदेखि राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनको पक्षमा उभिएका थिए । यसको रिपब्लिकनभित्रैबाट विरोध भएको थियो ।
यसअघि युक्रेनसँगको गुप्तचर सहकार्य भङ्ग गर्ने निर्णय भएको थियो । यस निर्णयलाई अमेरिकाले उल्ट्याइसकेको छ । महत्त्वपूर्ण सैन्य सहयोग अमेरिकाले हालै युक्रेनलाई गरेको छ । साथमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अमेरिकाको रुसलाई सहयोग रहेको गुनासो गरे पनि सो गुनासो अहिले पार भएको छ । राष्ट्रपति ट्रम्पले भने अमेरिकाको हितलाई ध्यानमा राख्दै सबै कुराको निर्णय गर्ने बताएका छन् । यो निर्णयले ग्यासको मूल्यवृद्धि हुने र निर्वाचनमा सहयोगी हुने विश्वास ट्रम्पको थियो ।
ट्रम्पको यो सोचले निर्वाचनमा सार्थकता पाएन । सेन्टर फर युरोपियन रिफर्म एवम् कांग्रेसनल एआइडी जेम्स ग्रिनले ट्रम्प प्रशासनको विदेश नीति हाइवेमा ओभर स्पीडमा कुदेको गाडी झैँ नै भएको प्रतिक्रिया दिएका छन् । उनले अबको दुई वर्षमा यो सबै परिवर्तन हुन कठिन हुने बताए ।

विज्ञहरूको अनुसार काङ्ग्रेससँग अधिकार भए पनि ब्युरोक्रेसी र अन्य निकायले ट्रम्पलाई साथ दिएका कारण उनको इच्छामा नै धेरै कुरा निर्भर रहने बताउँछन् ।
जहाँसम्म डेमोक्रेटको विषय छ, उनीहरूका लागि युक्रेन पहिलो विषय होइन । डेमोक्रेटका लागि त्यसभन्दा महत्त्वपूर्ण सन् २०२८ मा सफलता पाउन सक्ने उम्मेदवारको चयन गर्नु हो ।
अमेरिकीका लागि युक्रेन आफैं समस्या होइन । समस्या रुससँगको पुरानो दुस्मनी हो । सन् २०२५ मा प्यु रिसर्चले गरेको एक अध्ययनअनुसार ६७ प्रतिशत अमेरिकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बोलीमा विश्वास गर्न चाहँदैनन् । ६० प्रतिशतले त रुसलाई शत्रुकै रूपमा मात्र हेर्न चाहन्छन् ।
यो मध्यावधि निर्वाचनपछि डेमोक्रेटका लागि धेरै विकल्प छ । रुसी राष्ट्रपति पुटिनले पनि यसै समयमा अमेरिकी राष्ट्रपतिको घरेलु राजनीतिको घरेलु अवस्थालाई हेरेर धेरै नै ब्ल्याकमेलिङ पनि गर्न सक्छन् ।
यसै महिनाको अन्त्यमा एसिया प्यासिफिक कर्पोरेसन (एपेक) को सम्मेलन चीनमा हुँदैछ । चीन, अमेरिका र रुसको बीचमा सोही दौरान वार्ता हुने सम्भावना प्रबल छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जसरी पनि युद्ध अन्त्यको घोषणा गरेका छन् । तर दुई सार्वभौम देशको बीचमा हुने वार्ता र निर्णय ट्रम्पले भने झैँ नहुन सक्छ ।
युद्ध सुरु भएपछि युक्रेनले २० प्रतिशत भूभाग गुमाइसकेको छ । अध्ययनहरुका अनुसार अहिले हवाई आक्रमणमा रुस अघि छ । यसको मतलब रुसले यसै सबै कुरा स्वीकार गर्ने पक्षमा नहुन सक्छ । रुसले अहिले नै जितिहाल्ने अवस्था पनि छैन ।

केही सञ्चारमाध्यमले कांग्रेसमा डेमोक्रेटले पाएको सफलताका कारण युक्रेनलाई फाइदा हुनसक्ने आकलन गरेका छन् । रुसले युक्रेनलाई आक्रमण गरेको समयमा अमेरिकामा जो बाइडेनको सत्ता थियो । जो बाइडेनले सुरुवाती दिनमा युक्रेनलाई राम्रो साथ दिएका थिए । अमेरिका र युरोपेली देशको साथले सुरुवाती समयमा युक्रेनले रुसको सामना गरेको थियो । अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अवस्था फेरिएको हो ।
यसअघि जर्मनमा गएर आफ्नो धारणा राख्दै युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले रिपब्लिकनप्रति पनि आफू आभारी भएको तथापि आफ्नो देशको सवालमा डेमोक्रेट अझ प्रस्ट रहेको प्रतिक्रिया दिएका थिए ।
धेरैको अनुमान छ कि डेमोक्रेटले युरोपेली देशसँग अमेरिकाको सम्बन्ध सुधार गर्न दबाब दिन सक्नेछ । यसले रुस र युक्रेनबीचको युद्धलाई पनि असर गर्न सक्नेछ ।
युक्रेनको अर्को रणनीति पनि हुन सक्नेछ । यो निर्वाचनले दुई वर्षपछि हुने निर्वाचनमा डेमोक्रेटले सफलता पाउने सङ्केत गरेको छ । दुई वर्ष थेगेर ट्रम्पपछिको कार्यकालको प्रतीक्षा गर्ने नीति पनि युक्रेनको हुनसक्छ ।
डेमोक्रेटको सफलतापछि धेरैले अनुमान गरेभन्दा फरक अवस्था पनि हुनसक्छ । डेमोक्रेटको जीतले उत्साहितहरूलाई हिस्याउन नै ट्रम्पले फटाफट आफ्नो योजना लागू गर्न पनि सक्छन् ।

अहिले पनि अमेरिकाले पूरा गर्नुपर्ने युक्रेनका धेरै आवश्यकता छन् । खासमा सैन्य सहयोग, गुप्तचर सहयोग र रुसमाथिको थप प्रतिबन्ध युक्रेनले चाहेको विषय हो ।
युक्रेनका विदेशमन्त्री आन्द्रे साइबाले अमेरिकी मध्यावधि निर्वाचनपछि तुरुन्त अर्को निर्णयको अपेक्षा गरेको बताउँछन् । बुखारेस्टमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को कदमको अपेक्षा गरेको बताएका हुन् ।
रुस र युक्रेनबीचको युद्ध भएको करिब ५ वर्ष हुन लागेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आक्रमणको लगत्तै अमेरिका र युरोपेली देशले युक्रेनलाई साथ दिएका थिए ।
सन् २०२५ को सुरुसम्म कहिले युक्रेन या कहिले रुस हाबी भएको देखिएको थियो । केही युक्रेनी भूभाग रुसले नियन्त्रणमा लिएको थियो । रुसले आर्थिक क्षति भने धेरै सहेको थियो । धेरै मानवीय क्षति पनि सहेको थियो ।
अमेरिकाको राष्ट्रपति पदमा ट्रम्प निर्वाचित भएपछि यो अवस्था फेरिएको हो । सायद यस निर्वाचनपछि रुस-युक्रेन युद्धमा युक्रेनी खुसीयालीले कुन रूप लिने हो त्यो भने प्रतीक्षाको विषय हो ।
-द कन्भरसेसन, डीडब्ल्यू, सीएनएनलगायतको सहयोगमा


मनोज घिमिरे 


















