images
images
  • सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

    न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेको थियो । समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो ।

    समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए ।

    यसअघि सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर गरिएको थियो ।

    समितिले न्यायपालिकाप्रति जनविश्वास अभिवृद्धि, न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउने, सर्वसाधारणको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने तथा न्यायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशहरूको धारणा मागेको थियो ।

    त्यसैगरी न्यायिक सुशासन, पारदर्शिता, जवाफदेहिता र न्यायपालिकाको संस्थागत सुधारका विषयमा उनीहरूको दृष्टिकोण तथा भावी योजनाबारे समितिले चासो राखेको छ । संसदीय सुनुवाइबाट प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव, व्यावसायिक दक्षता, निष्पक्षता र न्यायिक जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको मूल्याङ्कन गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images