काठमाडौं– जाडोयाम नजिकिँदै जाँदा दिन छोटा र घाम लाग्ने समय कम हुँदै जान्छ। यस्तो अवस्थामा मौसमी डिप्रेसनको समस्या हुने मानिसले आफ्नो शरीर र मस्तिष्कमा त्यसको प्रभाव महसुस गर्न सक्छन् ।
लाखौं मानिसमा देखिने अनुमान गरिएको ‘सिजनल अफेक्टिभ डिसअर्डर’ (एसएडी) अर्थात् मौसमी भावनात्मक विकार यस्तो समस्या हो, जसमा मानिसलाई सामान्यतया शरद ऋतुदेखि डिप्रेसनका लक्षण देखिन थाल्छन् र वसन्त वा गर्मीयाम सुरु भएपछि ती लक्षण कम हुँदै जान्छन् ।
मौसमी डिप्रेसन बढाउने एउटा कारण दिनको उज्यालो समय घट्नु पनि हो । अमेरिकाका धेरै स्थानमा आइतबारदेखि घडीलाई पुनः मानक समयमा फर्काइएपछि अपराह्न छिट्टै अँध्यारो हुन थालेको छ । यसले मौसमी डिप्रेसनको समस्या भएका मानिसलाई थप असर गर्न सक्छ ।
यसको तुलनात्मक रूपमा हल्का स्वरूपलाई ‘सबसिन्ड्रोमल एसएडी’ भनिन्छ, जसलाई पनि चिकित्सा विज्ञहरूले मान्यता दिएका छन् । गर्मीयाममा पनि मौसमी डिप्रेसन हुनसक्छ । तर यसबारे अनुसन्धान भने तुलनात्मक रूपमा कम भएको छ ।
सन् १९८४ मा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का तत्कालीन अनुसन्धानकर्ता डा. नर्मन रोसेन्थल नेतृत्वको टोलीले पहिलोपटक मौसमी डिप्रेसनबारे व्याख्या गर्दै ‘एसएडी’ शब्द प्रयोगमा ल्याएको थियो ।
रोसेन्थलले भनेका छन्, ‘यो शब्द सम्झन सजिलो भएकाले नै यसको संक्षिप्त नाम लोकप्रिय भएको मेरो विश्वास छ ।’
मौसमी डिप्रेसनको कारण पत्ता लगाउन वैज्ञानिकको प्रयास
मौसमी भावनात्मक विकार (एसएडी) हुनुको एउटै निश्चित कारण अहिलेसम्म पत्ता लागेको छैन । अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यो समस्या पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ ।
यसका लक्षण सामान्य डिप्रेसनसँग मिल्दोजुल्दो हुन्छन् । निरन्तर निराशा महसुस हुनु, भविष्यप्रति नकारात्मक सोच आउनु, एकाग्रता कमजोर हुनु, कुरा सम्झन कठिनाइ हुनु तथा निर्णय लिन समस्या हुनु यसका प्रमुख लक्षण हुन् ।
यो समस्या कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न वैज्ञानिकहरूले आँखामा रहेका विशेष कोषिकामाथि अनुसन्धान गरिरहेका छन् । ती कोषिकाले प्रकाशको स्पेक्ट्रममा रहेको नीलो तरङ्गलाई कसरी स्नायु संकेतमा परिवर्तन गर्छन् र त्यसले मानिसको मनोदशा तथा सतर्कतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।
सूर्यको प्रकाशमा नीलो प्रकाशको मात्रा पर्याप्त हुन्छ । आँखाका विशेष कोषिकाले यस्तो प्रकाश ग्रहण गर्दा मस्तिष्कको सतर्कता नियन्त्रण गर्ने भाग सक्रिय हुन्छ । त्यसले मानिसलाई बढी जागरुक र सम्भवतः खुसी महसुस गराउन मद्दत गर्छ ।
अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयकी अनुसन्धानकर्ता क्याथरिन रोक्लिनले मौसमी डिप्रेसन भएका र नभएका मानिसको आँखाले नीलो प्रकाशमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अध्ययन गरेकी थिइन् ।
अध्ययनमा मौसमी डिप्रेसन भएका मानिसको समूहमा अन्य मानिसको तुलनामा नीलो प्रकाशप्रतिको संवेदनशीलता कम देखिएको थियो । विशेषगरी जाडोयाममा यस्तो भिन्नता बढी देखिएको थियो । यसले जाडोयाममा हुने डिप्रेसनको सम्भावित कारण बुझ्न एउटा आधार दिएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
दिन छोटिँदा उज्यालो प्रकाशको प्रयोग उपयोगी
मौसमी डिप्रेसन भएका धेरै मानिसलाई प्रकाश उपचार (लाइट थेरापी) प्रभावकारी हुने येल विश्वविद्यालयको विन्टर डिप्रेसन रिसर्च क्लिनिकका डा. पल डेसान बताउँछन् ।
यो उपचार विधिमा बिहान करिब आधा घण्टासम्म विशेष उपकरणबाट निस्कने तीव्र प्रकाशमा बस्नुपर्छ । यस्ता उपकरणबाट निस्कने प्रकाश सामान्य कोठाभित्रको प्रकाशभन्दा करिब २० गुणा बढी चम्किलो हुन्छ ।
अनुसन्धानले करिब १० हजार लक्स क्षमताको प्रकाश प्रयोग गर्नु प्रभावकारी हुने देखाएको छ । लक्स प्रकाशको चमक मापन गर्ने एकाइ हो । अध्ययनअनुसार यस्तो प्रकाश हरेक बिहान ३० मिनेट प्रयोग गर्नुपर्छ ।
डा. डेसानका अनुसार यसले मौसमी डिप्रेसन भएका मानिसलाई मात्र नभई जाडोयाममा सामान्य रूपमा उदास वा निराश महसुस गर्ने मानिसलाई पनि राहत दिन सक्छ ।
प्रकाश उपचारका लागि प्रयोग हुने विशेष उपकरणको मूल्य ५० अमेरिकी डलरदेखि ४०० डलरभन्दा बढी पर्न सक्छ । तर मौसमी डिप्रेसनको उपचारका नाममा बजारमा बिक्री भइरहेका केही उपकरण पर्याप्त चम्किलो नहुने भएकाले प्रभावकारी नहुन सक्ने डेसान बताउँछन् ।
येल विश्वविद्यालयले परीक्षण गरेका केही उपकरण र तिनका सिफारिसबारे जानकारी आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । त्यस्तै गैरनाफामूलक संस्था सेन्टर फर इन्भाइरोन्मेन्टल थेराप्युटिक्सले पनि उपभोक्तालाई उपयुक्त लाइट बक्स छनोट गर्न मार्गदर्शन उपलब्ध गराएको छ ।
यदि चिकित्सकले मौसमी डिप्रेसन भएको निदान गरेका छन् भने यस्तो उपकरण किन्नुअघि स्वास्थ्य बिमा कम्पनीसँग यसको खर्च बिमाले समेट्छ कि समेट्दैन भनेर बुझ्न सकिन्छ ।
मनोपरामर्श र औषधोपचार पनि प्रभावकारी
मौसमी डिप्रेसनको उपचारमा प्रकाश उपचारसँगै डिप्रेसनविरुद्ध प्रयोग गरिने औषधि पनि पहिलो प्राथमिकताका उपचार विधिमध्ये पर्छन् ।
चिकित्सकहरूले नियमित सुत्ने र उठ्ने समय कायम राख्न तथा बादल लागेको दिनमा समेत बाहिर निस्केर हिँडडुल गर्न सुझाव दिने गरेका छन् ।
प्रकाश उपचारबाट प्राप्त हुने फाइदा यसको प्रयोग बन्द गरेपछि कम हुन सक्छ । तर मनोपरामर्शको एउटा विधि ‘कग्निटिभ बिहेभियरल थेरापी’ (सीबीटी) ले तुलनात्मक रूपमा लामो समयसम्म प्रभाव पार्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
भर्मोन्ट विश्वविद्यालयकी अनुसन्धानकर्ता केली रोहनका अनुसार सीबीटी विधिमा मनोचिकित्सक वा परामर्शदातासँग मिलेर मानिसले आफूभित्र विकास गरेका नकारात्मक र अनुपयोगी सोच पहिचान गर्ने तथा तिनलाई सकारात्मक र उपयोगी सोचमा परिवर्तन गर्ने काम गरिन्छ ।
मनोपरामर्शले मानिसलाई फेरि दैनिक जीवनका रमाइला गतिविधिमा सहभागी हुन साना–साना कदम चाल्न सहयोग गर्छ । रोहनका अनुसार मानिसले आफूलाई सहज लाग्ने र रमाइलो अनुभव हुने गतिविधिको योजना बनाउनुपर्छ ।
जाडोयाममा घरभित्रै सीमित हुने बानीबाट बाहिर निस्कन साथीभाइसँग भेटघाट गर्ने, सँगै बसेर कफी पिउने वा मन पर्ने सामान्य गतिविधिमा सहभागी हुने गर्न सकिन्छ ।
यस्ता साना गतिविधिले मानिसलाई एक्लोपन र निराशाबाट बाहिर निस्कन सहयोग पुर्याउन सक्छन् ।
–एपीबाट






















