काठमाडौं – गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीका अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयास समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ प्रकाशित भएको छ ।
तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक र सम्पादक सहभागी थिए ।
डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेख्नुभएको पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञले सहकार्य गरेका छन् । छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीको उत्पत्ति र प्रभावदेखि मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन् ।
पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ राखिएको छ । यसको उपशीर्षक ‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ रहेको छ। पुस्तकमा गत भदौ १० गते (अगस्ट २६) हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ ।
सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्याएको थियो । पुस्तकका अनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो ।
‘न्यारेटिभ नन–फिक्सन’ अर्थात् कथात्मक गैरआख्यान विधामा तयार गरिएको पुस्तकमा प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा हिमपहिरो तथा चट्टान खस्दा बाढी कसरी उत्पन्न भयो भन्ने घटनालाई प्रस्तुत गरिएको छ । विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभवलाई पनि पुस्तकमा प्राथमिकता दिइएको छ ।
लेखक डा. ईश्वर थापाका अनुसार पुस्तकमा नेपालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेका राहत, पुनःस्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन् । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा तरङ्ग नेपालले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा उल्लेख छ ।
पुस्तकमा उल्लेख भएअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।
राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं. ७ का ५० र वडा नं. १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री तथा नुवाकोटको विदुर नगरपालिका–१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।
विपद्पछि स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं. १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो। विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भर्टर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो। विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ ।
पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण र वितरणमा पारदर्शितालाई महत्त्व दिएको छ । प्रभावित समुदायको पुनःस्थापनाका लागि अपनाइएका प्रयास र विपद्का बेला देखिएका चुनौतीबारे पनि विश्लेषण गरिएको छ ।
भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्यसुरक्षालाई प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी एउटा मात्र भवन सुरक्षित रहनुका कारण, नदीको बहाव तथा गेग्रान व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पुस्तकमा चर्चा गरिएको छ ।
वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताउनुभयो। उहाँका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पुर्याउन सक्ने योगदानलाई पनि उजागर गरेको छ ।
रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्त्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाउनुभयो। बाढीको खबर प्राप्त हुनासाथ संस्थाले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको उहाँले जानकारी दिए ।
उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत सहयोग गर्ने निर्णय गरेको उनको भनाइ थियो । इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता तथा ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ ।
पुस्तकमा बाढीअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन् । हिमाली विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीबाट थुप्रिएको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमका कारण रसुवाको खाद्यसुरक्षामा पर्न सक्ने प्रभावबारे पनि अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।
प्रभावित समुदायका अनुभवलाई वैज्ञानिक तथा दस्तावेजीकृत तथ्यसँगै प्रस्तुत गर्नु पुस्तकको विशेषता रहेको लेखकहरूले जनाएका छन् । पुस्तकमा तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको छ । प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयबीच भिन्नता कायम गरिएको उनीहरूको भनाइ छ ।
पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुनःस्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ ।






















