images
images
  • लक्ष्मीपूजा गरिँदै, धनधान्य र समृद्धिको कामना

    काठमाडौं – ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा गर्ने चलन छ ।

    सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यताअनुसार आज बिहानैदेखि घर तथा आँगन सफा गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थान सफा गरी दीप प्रज्ज्वलन गर्ने परम्परा छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

    धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो एक हो। लक्ष्मीपूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीका पाइला बनाउने चलन छ । यसरी लक्ष्मी आउने बाटो देखाइने धार्मिक विश्वास छ ।

    लक्ष्मीका पाइला बनाइएको बाटोमा केराको सुत्ला वा माटाका पालामा दीप प्रज्ज्वलन गरी घर झिलीमिली बनाइन्छ । पछिल्लो समय परम्परागत दियोको सट्टा मैनबत्ती बाल्ने प्रचलन पनि बढेको छ । तर, दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको प्रा. नेपाल बताउछन् ।

    दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी तथा कुबेरको स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा आराधना गरिन्छ। लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलन पनि छ । आजको दिन घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाउँदा लक्ष्मी बाहिरिने धार्मिक विश्वास रहेको छ ।

    धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमका अनुसार लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि छ ।

    लक्ष्मीपूजाको साँझ युवतीका समूह घरघरमा पुगेर भैलो खेल्ने परम्परा पनि छ। भगवान् विष्णुले यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल गरी तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको धार्मिक कथन छ। वरदान पाएपछि बलिराजाले सबैको भलो होस् भन्ने कामनासहित घरघरमा गीत गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको मान्यता छ । ‘भलो होस्’ भन्ने शब्द अपभ्रंश हुँदै ‘भैलो’ बनेको प्रा. डा. गौतम बताछन् ।

    भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ । कात्तिक महिनामा गरिने दान भएकाले भैलो खेल्न आउनेलाई दान नदिए राम्रो नहुने र दिए पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    लक्ष्मीपूजाका अवसरमा आज सहर तथा बजार क्षेत्रमा दीपावली गरी घर, सडक र बस्ती झिलीमिली बनाइएको छ । कुल परम्पराअनुसार कतिपय स्थानमा आजै बिहान गाईको पूजा गर्ने चलन पनि छ । यद्यपि, शास्त्रीय मान्यताअनुसार औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउनुभएको छ ।

    यस वर्ष लक्ष्मीपूजा आइतबारको सार्वजनिक बिदाकै दिन परेको छ । तिहारका अवसरमा सोमबारदेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म सार्वजनिक बिदा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images