काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी २४ घण्टामा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
आज राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।






















