images
images
  • छ दिनमै तीन हजारभन्दा बढी पर्यटक सिक्लेसमा, दैनिक औसत ५२४ जनाको आगमन

    काठमाडौं – पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पछिल्लो छ दिनमा मात्रै तीन हजार १४६ जना पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

    मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख अर्थात् कात्तिक १५ देखि २० गतेसम्म उक्त सङ्ख्यामा पर्यटक सिक्लेस पुगेका हुन् । यस अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँ भित्रिएको उहाँले जानकारी दिए ।

    सिक्लेस पुगेका अधिकांश पर्यटक गाउँमा बसाइँपछि चर्चित पर्यटकीय गन्तव्य कोरी र हिमनदी ताल क्हफुचे क्षेत्रतर्फ पदयात्रामा जाने गरेका छन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र पदयात्राको आकर्षणले सिक्लेसमा पर्यटकको आगमन बढाएको स्थानीयको भनाइ छ ।

    छ दिनको विवरणअनुसार कात्तिक १८ गते सबैभन्दा बढी ७१९ जना पर्यटक सिक्लेस पुगेका थिए । त्यस्तै, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटक गाउँ पुगेको वडाध्यक्ष गुरुङले बताए ।

    पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा घरबास ९होमस्टे० व्यवसायी उत्साहित भएका छन्। पर्यटकको चहलपहलले स्थानीय पर्यटन व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

    पोखराबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेस गुरुङ समुदायको बाहुल्यता भएको सुन्दर पर्यटकीय गाउँ हो । यहाँ करिब ४०० घरधुरी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images