images
images
  • झुपडी बस्तीको एउटा प्रश्न- सबै थोक भएर पनि किन रित्तिँदैछौ सरकार ?

    सरकार, तिमीसँग सत्ता छ । तिमीसँग शक्ति छ । तिमीसँग जोस छ । जाँगर पनि छ । जनताको मत छ । सबै छ । तैपनि रित्तिँदै गएका छौ । किनकि तिमी काँचो भयौ । ३५ वर्ष देश लुटे भन्दै तिमीले यो मुद्दा उठायौ । त्यो बेला तिमीले पढेको, तिमीलाई लेख्न सिकाएका हात सायद यही अवधिका थिए होलान् ।

    आज तिमी त्यही ३५ वर्षको अवधिमा बनाएका पुलमा उभिन्छौ र आफ्नो पुस्तालाई थुक्क भन्दै गाली गर्छौ । सुरुङ मार्गको रिबन काट्छौ र आँटका साथ भन्छौ- यो देश यसरी बनाउनुपर्छ । त्यही पुलमा उभिन्छौ र फेरि फलाक्छौ- देख्यौ देश यसरी बन्नुपर्छ ।

    तिम्रो शासन शैलीको योजना सिंहदरबार र बालुवाटारमा बन्दैन । खै कता के डोलमा बन्छ रे । अन्त कतै नबोल्ने मेरो देशको प्रधानमन्त्री त्यही पुगेर खित्का छोडेर हाँस्छ रे । हुन त म कसरी प्रधानमन्त्रीको हाँसो देख्छु । ऊ मेरो झुपडीबाट उदाएको होइन, अरु त भ्रष्टाचारी भए पनि, अत्याचारी भए पनि हामीले देखेका थियौं । हामीले लाउँदै गरेको दौरा फुकालेर दिएका थियौं । तिनका नदेखेका कुनै अङ्ग थिएनन् । नछामेका र नडामेका कुनै भाग थिएनन् । त्यही भएर त ती हाम्रा थिए । गाली गर्ने अधिकार थियो ।

    ऊ कताबाट आएको भनेर हामीले कुनै प्रश्न गर्नु थिएन । किनकि मेरै झुप्रे बस्तीबाट आएको थियो । त्यसैले ऊ को हो भनेर मैले खोज्नु पर्दैन । एउटी आमाले सबैखाले सन्तान जन्माउँछे । ऊ चोर होला, डाँका होला, असल होला तर आफ्नो सन्तान के हो ? भन्ने सबै थाहा पाउँछे ।

    तिमीले ३५ वर्ष भनेर गाली गरेका नेता कार्यकर्ता यही नेपाली छाप्रोबाट जन्मिएका हुन् । जे जुन रूपमा भए पनि उनीहरू झुपडीका छोराछोरी हुन् ।

    तर तिमी कताबाट आयौ ? कसको सन्तान हौ ? तिम्रो जन्म र इतिहास के हो ? तिमी कस्तो खान्छौ ? के लाउँछौ ? त्यो त कसलाई थाहा छैन । तिमी त एक राते बजारमा भेला भएका गीताङ्गे जस्तो पो देखियौ । तिमी ५ वर्षका लागि जनताबाट अनुमोदन भएका हौ ।जुनीभरिका लागि होइन । लोकसेवा आयोग पास पनि गरेका होइनौं ।

    लोकतन्त्रको प्रक्रिया अलि लामो र झन्झटिलो हुन्छ । संसारको विधि नै यही हो । तिमीलाई त्यो पाच्य छैन । किनकि तिमी लोकतन्त्रको भ¥याङमात्र चढेका हौ । तिम्रो सोच दलविहीन निर्दलीय छ । त्यसकारण तिम्रो शैलीले सबैभन्दा पहिलो दलीय सिस्टमको पर्खाल भत्काउनमा केन्द्रित  हुन्छ ।

    त्यही भएर तिमीले पत्रकारमाथि हमला ग¥यौ । शिक्षकमाथि हमला ग¥यौ । विद्यार्थीमाथि हमला ग¥यौ । कर्मचारीमाथि हमला ग¥यौ । प्रहरीमाथि हमला ग¥यौ । समाजका सबै बहुदलीय पद्धतिमाथि आक्रमण ग¥यौ ।

    सरकार, अब तिमीलाई फेरि चुनावमा जानु छैन । यति सानो उमेरमा प्रधानमन्त्री हुन सबैले पाउँदैनन् । तिमी जनतामा होइन, ज्योतिषमा विश्वास गर्छौ । तिमी हिन्दूशास्त्रका दक्ष प्रजापति जस्ता भएका छौ । टाउको र शासन निर्दलीयतिर । यज्ञ भने बहुदलीय पद्धतितिर । फेरि पनि झुपडीको यो निमुखो भन्दैछ- सरकार लामो समय शासन गर, लोकतान्त्रिक विधि र पद्धतिभित्र बसेर काम गर । हरेकका सन्तानले झैं बावुआमालाई गाली गरेर लोकप्रियताको महल चढ्न नखोज ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images