images
images
  • प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगम

    काठमाडौं – तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकका कृत्रिम फूलमाला बिक्री गर्ने पसलमा बजार अनुगमन तीव्र बनाएको छ। प्रतिबन्धित प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण भइरहेको पाइएपछि महानगरले त्यस्ता सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

    महानगरपालिकाले पोखरा महानगरपालिका–१ र २ अन्तर्गत विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौवटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, कृत्रिम फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको महानगरले जनाएको छ ।

    महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नभएका भाइमसला तथा कृत्रिम रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको थियो ।

    प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको बताउँदै उहाँले व्यवसायीलाई कानुनी व्यवस्थाको पालना गर्न आग्रह गरिएको जानकारी दिए।

    पोखरा महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराइएको थियो ।

    प्राकृतिक फूलमालाको प्रयोगमा जोड

    महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न निर्देशन दिइएको थियो ।

    उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग र बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। तिहारमा कृत्रिम फूलमालाको माग र बिक्री बढ्न सक्ने भएकाले महानगरले अनुगमनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

    महानगरले कृत्रिम फूलमालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । फूलखेती गर्ने किसानलाई अनुदानलगायत सहयोग उपलब्ध गराउँदै स्वदेशी उत्पादनको प्रयोग बढाउन व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको गुरुङले बताए ।

    प्रतिबन्ध उल्लङ्घन गरे कारबाही हुने

    वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गर्नेलाई प्रचलित कानुनअनुसार जरिवाना हुने व्यवस्था छ ।

    वातावरण संरक्षणसँगै उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको आर्थिक हितलाई ध्यानमा राखेर बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने पोखरा महानगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images