काठमाडौं – पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको पर्यटकीय महत्त्व, प्राकृतिक सौन्दर्य र पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई सहज रूपमा उपलब्ध गराउन कोशी प्रदेश सरकारले डिजिटल माध्यमको सुरुवात गरेको हो ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटबाट मुन्दुम पदमार्गसहित प्रदेशका अन्य पर्यटकीय क्षेत्रबारे पनि जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।
उनका अनुसार वेबसाइटले मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यक पर्ने सूचना उपलब्ध गराउन सहयोग पुर्याउनेछ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।
भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति तथा ऐतिहासिक र धार्मिक महत्त्वका स्थल यस पदमार्गका प्रमुख आकर्षण हुन् ।
वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट पर्यटकलाई पदयात्राको योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास (होमस्टे) र अन्य आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।






















