काठमाडौं – नेपालीको दोस्रो महान् पर्व तिहार अर्थात् दीपावली सुरु हुने तयारीमा छ । उज्यालो र खुसीको पर्वका रूपमा परिचित तिहारले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व बोकेको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ र असत्यबाट सत्यतर्फ अघि बढ्न प्रेरित गर्ने संस्कृतिविद् लेखनाथ शास्त्रीले बताउएको छ ।
शास्त्रीका अनुसार दीपावली बाहिरी उत्सव र झिलिमिलीमा मात्र सीमित छैन । यो मानिसभित्र सकारात्मक सोच, आत्मचेतना र आध्यात्मिक जागरणको दियो बाल्ने अवसर पनि हो । यसको मूल सन्देश व्यक्तिगत उन्नति, सामाजिक सद्भाव र सकारात्मक परिवर्तनसँग जोडिएको उनको भनाइ छ ।
आन्तरिक ज्योतिको स्मरण
औँसीको अँध्यारो रातमा घर, आँगन र बस्तीभरि दियो बाल्ने परम्पराले मानिसलाई आफ्नै चेतनाभित्र उज्यालो खोज्न प्रेरित गर्छ । बाहिर हजारौँ दियो बालिरहँदा आफूभित्र रहेको अज्ञानता, नकारात्मकता र विकृतिलाई हटाएर ज्ञान र सकारात्मकताको प्रकाश फैलाउनुपर्ने सन्देश दीपावलीले दिने शास्त्री बताछन् ।
ऊर्जाको अन्तर्मुखी यात्रा
मानिसको अधिकांश ऊर्जा बाहिरी संसार, धन, सम्पत्ति, प्रतिष्ठा र भौतिक उपलब्धिको खोजीमा खर्च भइरहेको हुन्छ। दीपावलीले यही ऊर्जालाई केही समय आफ्नै मन, विचार र चेतनातर्फ फर्काउने अवसर प्रदान गर्छ । शास्त्रीका अनुसार दीपावली आत्मचिन्तन र आत्मबोधको पर्व पनि हो। बाहिरी उपलब्धिको दौडसँगै आन्तरिक शान्ति, सन्तुष्टि र सकारात्मक सोचको विकास गर्नुपर्ने सन्देश यसले दिन्छ ।
अन्धकारबाट प्रकाशतर्फ
दीपावलीको अर्को महत्त्वपूर्ण सन्देश अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ र असत्यबाट सत्यतर्फ अघि बढ्नु हो । यसले मानिसलाई सत्य, सदाचार, विवेक र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्छ ।
जीवनलाई उत्सव बनाउने पर्व
दीपावली वर्षमा एकपटक मनाइने पर्व भए पनि यसको सन्देश जीवनभरका लागि भएको शास्त्रीको भनाइ छ । मानिसभित्र जागरण र सकारात्मकताको दियो बल्न सके जीवनको प्रत्येक दिन उत्सवमय बन्न सक्छ ।
तिहारका पाँच दिन र मुख्य परम्परा
नेपाली समाजमा तिहारलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाउने परम्परा छ। काग तिहारबाट सुरु हुने यस पर्वमा क्रमशः कुकुर, गाई, गोरु तथा धनधान्यकी देवी महालक्ष्मीको पूजा गरिन्छ । अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइदिएर भाइटीका मनाउने चलन छ ।
लक्ष्मीपूजा र दीपावली
तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजामा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । घर सफा गरी दीप प्रज्वलन गर्ने, दियो, मैनबत्ती तथा झिलिमिली बत्ती बालेर घरआँगन सजाउने परम्परा छ। यस दिन धन, समृद्धि र सुखशान्तिको कामना गरिन्छ ।
देउसी–भैलो र रङ्गोली
तिहारमा साँझपख सामूहिक रूपमा देउसी–भैलो खेल्ने परम्पराले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई बलियो बनाउँछ । गीत, संगीत र नृत्यमार्फत मनोरञ्जनसँगै संस्कृति र परम्पराको पुस्तान्तरणसमेत हुने गर्छ । त्यस्तै, घरको मूलद्वार र आँगनमा विभिन्न रङका फूल तथा रङ प्रयोग गरी रङ्गोली बनाउने चलन छ । यसले घरको वातावरणलाई आकर्षक र उत्सवमय बनाउँछ ।
परिकार र आत्मीयताको पर्व
तिहारमा सेलरोटी, अनरसा, फिनी लगायतका परम्परागत मिठा परिकार बनाउने चलन छ । ती परिकार आफन्त, साथीभाइ र छरछिमेकसँग बाँडेर खाने परम्पराले आपसी आत्मीयता, सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउँछ । यसरी तिहार केवल धार्मिक अनुष्ठान र मनोरञ्जनको पर्व मात्र नभई प्रकृति, पशुपक्षी, परिवार, समाज र मानव चेतनासँग जोडिएको नेपाली संस्कृतिको महत्त्वपूर्ण उत्सव हो ।






















