images
images
  • तिहार नजिकिएसँगै ढकमक्क फुले सयपत्री, धनकुटाका किसानलाई बिक्रीको चटारो

    काठमाडौं – धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क भएका छन् । पहेँलो र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको आशासमेत जगाएका छन् । तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारो बढेको छ ।

    तिहारमा घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा माला लगाइदिनेसम्म फूलको विशेष महत्त्व हुन्छ। यही मागलाई अवसरका रूपमा उपयोग गर्दै धनकुटाका किसान व्यावसायिक सयपत्री खेतीमा आकर्षित भएका छन् ।

    छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेललाई यतिबेला आफ्नो खेतबारीको उत्पादन बजार पुर्‍याउन भ्याइनभ्याइ छ । उनले सञ्चालन गर्दै आएको श्री पौडेल कृषि फर्ममार्फत १० रोपनी जमिनमा सयपत्री फूल खेती गर्नुभएको छ । तीन महिनाअघि रोपिएका बिरुवा अहिले फूलले ढकमक्क भएका छन्। फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने काममा उ व्यस्त छन् ।

    पौडेलले धनकुटासहित धरान, विराटनगर, बुटवल र काठमाडौंसम्म फूल पठाउँदै आएको छ । जिल्लाभित्र र बाहिरबाट माग बढेपछि आवश्यक परिमाणमा फूल पुर्‍याउनसमेत कठिन भइरहेको उ बताउछन् । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने लक्ष्य राखेका पौडेलका अनुसार अहिले फूल प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । कतिपय बजारमा किलोका आधारमा र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री हुने गरेको उहाँले बताउए ।

    तिहारलाई लक्षित गरेर फूल खेती गर्दा बजारको माग राम्रो भए पनि उत्पादनमा विभिन्न चुनौती रहेको पौडेलको अनुभव छ । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का पर्ने समस्या देखिने गरेको उनले बताए । यस्ता चुनौतीका बाबजुद फूलको माग बढेकाले आफू उत्साहित रहेको उनको भनाइ छ ।

    धनकुटा नगरपालिका–७ का प्रविण पोख्रेल पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने अपेक्षामा हुनुहुन्छ । एक रोपनी जमिनमा लगाएको सयपत्री खेतीबाट यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उ बताउछन् ।

    स्वदेशी किसानले उत्पादन गरेको फूलले उचित बजार पाउन भारतीय फूल तथा कृत्रिम मालाको अनियन्त्रित आयात र प्रयोग नियन्त्रण गर्नुपर्ने पोख्रेलको माग छ । गत वर्ष भारतीय फूलको आयात नहुँदा स्थानीय किसानको उत्पादन सहज रूपमा बिक्री भएको अनुभव सुनाउँदै उनले यस वर्ष पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउए । बिचौलियाहरू फूल खरिद गर्न आए पनि आफूले सकेसम्म सिधै उपभोक्तालाई बिक्री गर्ने तयारी गरेको उहाँले जानकारी दिए ।

    धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्रै सीमित छैन । छिमेकी जिल्लासँगै तराईका विभिन्न सहर हुँदै काठमाडौं र बुटवलसम्म पुग्ने गरेको छ । यसले फूल खेतीलाई किसानको आयआर्जनको महत्त्वपूर्ण माध्यम बनाउँदै लगेको छ ।

    कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ । यस वर्ष करिब छ मेट्रिक टन फूल उत्पादन हुने अनुमान गरिएको केन्द्रले जनाएको छ । जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख गोविन्दप्रसाद आचार्यका अनुसार फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । किसानमा फूल खेतीप्रतिको आकर्षण बढ्नु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । केन्द्रको तथ्याङ्कमा उल्लेख भएभन्दा पनि बढी परिमाणमा धनकुटामा फूल उत्पादन हुने गरेको अनुमान गरिएको आचार्यले बताए ।

    धनकुटामा फूल खेती विस्तार हुँदै गए पनि बजार व्यवस्थापन भने किसानका लागि चुनौतीपूर्ण बन्दै गएको छ । विशेषगरी भारतीय फूलको आयात र कृत्रिम मालाको बढ्दो प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ । तिहारमा मात्र नभई विवाह, पूजाआजा, अन्य चाडपर्व तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ ।

    हेर्दा आकर्षक र लामो समयसम्म टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ । तर स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी वृद्धि हुनुका साथै स्वदेशी उत्पादनले बजार पाउने पौडेलको भनाइ छ ।

    प्राकृतिक फूलको प्रयोगले स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै गाउँको अर्थतन्त्रलाई समेत चलायमान बनाउने सरोकारवालाको धारणा रहेकाछ । वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाएर प्राकृतिक फूललाई प्राथमिकता दिनुपर्ने किसान पोख्रेल बताउछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images