काठमाडौं – ओमानमा जारी एसिसी यु–१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो ।
ओमानको अल अमरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको नेपाल आज युएईलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।
युएई पनि पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने प्रयासमा छन् ।
नेपालको युएईविरुद्धको पछिल्लो प्रदर्शन भने उत्साहजनक छ । दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र युएईबीच अन्तिमपटक सन् २०१९ मा एसिया कपमै प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपालले युएईलाई १६० रनले पराजित गरेको थियो ।
नेपाल आज पनि त्यही जितको इतिहास दोहोर्याउँदै प्रतियोगितामा पहिलो सफलता हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।






















