काठमाडौं– पाराग्वेको सिनेटले राष्ट्रपति सान्टियागो पेनालाई महाभियोग लगाउँदै पदबाट हटाएपछि उपराष्ट्रपति पेद्रो अलियाना नयाँ राष्ट्रपति बनेका छन् । बैंकिङ संकटका कारण सरकारमाथि राजनीतिक दबाब बढेपछि सिनेटले पेनालाई पदमुक्त गरेको हो ।
डिजिटल ऋणदाता कम्पनी उएनो धराशायी भएपछि लाखौं ग्राहकले आफ्नो बैंक खातामा पहुँच गुमाएका थिए । यस घटनाले ठूलो राजनीतिक असन्तुष्टि निम्त्याएको थियो । कम्पनीको पतनका लागि सांसदहरूले राष्ट्रपति पेनालाई जिम्मेवार ठहर गरेपछि सत्तारूढ कन्जरभेटिभ कोलोराडो पार्टीका प्रभावशाली नेताहरूले समेत उनलाई साथ दिन छाडेका थिए ।
५२ वर्षीय अलियानाले सन् २०२८ अगस्टसम्म अर्थात् पेनाको कार्यकालको बाँकी अवधि राष्ट्रपति पद सम्हाल्नेछन् ।
कोलोराडो पार्टीका लामो समयदेखिका नेता अलियाना दशकौंको राजनीतिक सक्रियतापछि सन् २०२८ मा राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारीमा थिए । तर उनको त्यो लक्ष्य निर्धारित समयभन्दा दुई वर्षअघि नै पूरा भएको छ ।
गत सोमबारसम्म उनी राष्ट्रपति पेनाको पक्षमा उभिएका थिए । तर देशमा देखिएको वित्तीय संकट समाधान गर्नुपर्ने भन्दै उनले डिसेम्बरमा हुने पार्टीको प्राथमिक निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दिने आफ्नो योजना स्थगित गरेको घोषणा गरे ।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै अलियानाले भनेका थिए, ‘म गणतन्त्रको राष्ट्रपति बन्न चाहन्छु । मसँग त्यो क्षमता, ज्ञान र विचार छ भन्ने मलाई लाग्छ ।’
सोही क्रममा उनले अरूले गरेका गल्तीको जिम्मेवारी आफूले लिन नसक्ने पनि स्पष्ट पारेका थिए । उएनोसँग सम्बन्धित संकट व्यवस्थापनमा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठ्दै जाँदा अलियानाको यो अभिव्यक्तिलाई पेनासँग उनको दूरी बढ्दै गएको संकेतका रूपमा हेरिएको थियो ।
राष्ट्रपति पेना सन् २०२५ मार्चसम्म उएनो ऋणदाता कम्पनीको स्वामित्व रहेको समूहका व्यावसायिक साझेदार थिए ।
अलियानाले सात वर्षसम्म कोलोराडो पार्टीको अध्यक्षका रूपमा काम गरेका थिए । पाराग्वेमा पछिल्लो आठ दशकको अधिकांश समय शासन गरेको यस पार्टीमा उनी पूर्वराष्ट्रपति होरासियो कार्टेससँगै राजनीतिक रूपमा अघि बढेका नेता हुन् ।
भेरिस्क म्यापलक्रफ्टका अमेरिकासम्बन्धी प्रमुख विश्लेषक मारियानो माचाडोका अनुसार अलियानाको राष्ट्रपति कार्यकालमा यसअघिको नीतिले निरन्तरता पाउनेछ । तर उनको नेतृत्व कार्टेसमाथिको निर्भरतामा रहने र राजनीतिक जनादेश कमजोर हुने सम्भावना छ ।
माचाडोले भनेका छन्, ‘अलियानाको राष्ट्रपति बन्नुले नीतिगत निरन्तरता, कार्टेसमाथिको निर्भरता र कमजोर जनादेशलाई संकेत गर्छ । पेनाको बहिर्गमनले पाराग्वेलाई लगानीका लागि उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गर्ने प्रमुख पक्षलाई कमजोर बनाएको छ । सन् २०२८ को निर्वाचनअघि राजनीतिक संरक्षण र आफ्ना समर्थकलाई लाभ पुर्याउने उद्देश्यले सरकारी खर्च बढाउन दबाब आउन सक्छ ।’
अलियानाले पाराग्वे र अमेरिकाबीचको निकट सम्बन्धलाई पनि प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन् । गत अगस्टमा इन्फोबेसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘सिल्ड अफ द अमेरिकाज’ क्षेत्रीय सुरक्षा पहलले पाराग्वेलाई संगठित अपराध नियन्त्रण गर्न थप सहयोग पुग्ने बताएका थिए ।
त्यसैगरी उनले ताइवान र इजरायलप्रति पाराग्वेको समर्थनलाई पनि दृढ रूपमा अघि बढाउँदै आएका छन् । ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राख्ने विश्वका १२ देशमध्ये पाराग्वे पनि एक हो ।
पाराग्वेको पछिल्लो राजनीतिक संकटको सुरुवात प्रमुख ऋणदाता कम्पनी उएनोमाथिको नियामकीय निगरानी र सुपरिवेक्षणलाई लिएर उठेका प्रश्नबाट भएको थियो । यसै विषयलाई लिएर राजधानी असुनसियोनमा यसै साताको सुरुमा सडक प्रदर्शनसमेत भएका थिए । संकटको प्रभावस्वरूप मंगलबार पाराग्वेको केन्द्रीय बैंकका प्रमुखले पनि पदबाट राजीनामा दिएका थिए ।
सन् २०२३ मा उपराष्ट्रपति बन्नुअघि अलियानाले एक दशकसम्म प्रतिनिधिसभामा रहेर काम गरेका थिए । उनले आफ्नो जन्मस्थान दक्षिणी क्षेत्र नेम्बुकुको प्रतिनिधित्व गर्दै संसद्मा भूमिका निर्वाह गरेका थिए । यसअघि उनले सोही क्षेत्रमा गभर्नरका रूपमा पनि काम गरिसकेका छन् ।
अलियानालाई कम बोल्ने तर कोलोराडो पार्टीको संस्थापन पक्षसँग गहिरो सम्बन्ध भएका राजनीतिज्ञका रूपमा चिनिन्छ ।
–रोयटर्स






















