images
images
  • तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढे, १५ दिनमा ३५ हजारभन्दा बढीको भ्रमण

    काठमाडौं – तिहार बिदाको अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ। तिहारअघि र पछि लामो सरकारी बिदा परेसँगै मुस्ताङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो ।

    यस वर्ष प्रतिकूल मौसमका कारण दसैँअघि र पछि अपेक्षाअनुसार पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीको जोखिमका कारण पर्यटकको आगमन प्रभावित भएको थियो । तर, तिहार नजिकिँदै जाँदा मौसम अनुकूल बनेपछि पर्यटकको आवागमन बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै स्वदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारी र टोल समितिका समूह मुस्ताङ घुम्न आउने गरेका छन् ।

    प्रहरीको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ पर्यटक मुस्ताङ पुगेका छन् । तीमध्ये २७ हजार १०७ जना नेपाली र आठ हजार ७५१ जना विदेशी पर्यटक रहेका छन् । विदेशी पर्यटकमध्ये सार्क राष्ट्रबाट सात हजार ७१४ र अन्य मुलुकबाट एक हजार ३७ जना आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

    मुस्ताङ भ्रमणमा आउने अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किने गरेका छन्। केही पर्यटक भने नेपाल–चीन सीमास्थित कोरला नाकासम्म पुग्ने गरेका छन् । तिहार र छठ पर्वको बिदासम्म स्वदेशी पर्यटकको आगमन जारी रहने पर्यटन व्यवसायीको अपेक्षा छ ।

    मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाइमा मुस्ताङ पर्न थालेको छ । मुक्तिनाथ दर्शनका लागि आउने पर्यटकले जिल्लाका अन्य पर्यटकीय गन्तव्यसमेत घुम्ने गरेको उनले बताए ।

    धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुस्ताङमा सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष बेनी–जोमसोम सडक अवरुद्ध हुनु र केही समय मौसम प्रतिकूल रहनुले पर्यटन आवागमनमा असर पारेको थियो । यद्यपि, चाडपर्वको बिदासँगै पर्यटकको चहलपहल बढेको छ ।

    मुस्ताङ पुग्ने पर्यटकको पहिलो रोजाइ मुक्तिनाथ मन्दिर हुने गरेको छ । त्यसपछि पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जोमसोम र मार्फालगायत स्थानको भ्रमण गर्ने गरेका छन्। थासाङ गाउँपालिकाका सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल पनि पर्यटकका आकर्षण हुन् ।

    मुस्ताङका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, स्थानीय रहनसहन, वेशभूषा र हिमाली सभ्यताको अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय नेपाल–चीन सीमास्थित उत्तरी कोरला नाका पनि आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images